Chauthoanga - Nepali News Media
सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने गाउँपालिका अध्यक्ष पुनको भनाई 

कमिरेचौर -  बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने बताउनु भएको छ । उहाँले सहकारीलाई व्यवस्थितरुपा संचालन गर्दै उत्पादनमा जोड्न सके सहकारीको माध्यमबाट स्वरोजगार तथा आत्मनिर्भर बन्न सकिने बताउनु भएको हो । आज बंगलाचुली गाउँपालिकामा जिल्ला सहकारी संघ दाङले गरेको अन्तरक्रिया तथा ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनु भएको हो । 
अध्यक्ष पुनले गाउँपालिकामा रहेका सबै सहकारीहरुलाई व्यवस्थितरुपमा संचालन गर्नकालागि पालिकाको तर्फबाट विभिन्न किसिमको सहयोग समेत गरिने बताउनुभयो । उहाँले सहकारीलाई बचत तथा ऋणमा मात्र केन्द्रित नगराई उत्पादनमा जोड्दै सबै सदस्यहरुलाई स्वरोजगार गराउन समेत अनुरोध गर्नुभयो । 

यस्तै कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले सहकारी सिद्धान्तको पालना गर्दै सहकारीले आफ्नो गतिविधिलाई संचालन गर्नु पर्ने बताउनुभयो । उहाँले सकारीले राज्यका कानुनलाई पालना गर्दै सहकारी मुल्य र मान्यताका आधारमा आफ्नो गतिविधि संचालन गरेमा सहकारीकै माध्यमबाट परिवर्तन गर्न सकिने बताउनुभयो ।
 व्यवस्थितरुपमा सहकारीहरु संचालन नहुँदा सहकारी प्रतिको धारणा नकारात्मक हुने भएको हुँदा हरेक सहकारीले राज्यका नितिनियमलाई पालना गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले जिल्ला सहकारी संघको तर्फबाट गाउँपालिकालाई बुझाउने ध्यानाकर्षण पत्र वाचन गर्नुभएको थियो । ध्यानाकर्षण पत्रमा सहकारीहरुको नियमन,व्यवस्थापन,आत्मनिर्भरका लागि गरिने विभिन्न कार्ययोजनाहरु रहेका छन् । जसलाई गाउँपालिकाले कार्यान्वयन गरेमा सबै सहकारीहरु व्यवस्थितरुपमा संचालन गर्न सहज हुने विश्वास लिईएको छ । 
जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका लेखा समिति संयोजक होमलाल भुसाल,संचालक मिनराज घिमिरे, बंगलाचुली गाउँपालिकामा रहेका विभिन्न सहकारी संस्थाका प्रमुख,प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकिले गर्नुभएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको