Chauthoanga - Nepali News Media
आन्तरिक तथा बाह्रय पर्यटकहरूको गन्तव्य स्थल बन्दै तोरे दह
tore.gif

भालुवाङ - प्राकृतिक महत्व तथा प्रचुर सम्भावना बोकेको लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी अन्तरगत दाङ जिल्लाको तोरे दह एक पर्यटकीय स्थल हो । राप्ती गाउँपालिका वडा नं। ९ को जाबुनेमा यस दह पर्दछ । भालुबाङ, शान्तिपुर, बाउन्नेपाटा हुँदै करिब ९ किलोमिटरको दुरीमा रहेको सो दहले सबैभन्दा धेरै महत्व बोके पनि प्रचार(प्रसारको कमिले पर्यटकीय क्षेत्रको रूपमा विकास हुन सकेको छैन् ।

१ वर्ष यता केही सञ्चार माध्यमहरूमा समाचार प्रकाशन तथा प्रसारण भएपछि भने केही आन्तरिक पर्यटकहरू बिस्तारै दह घुम्न जान थालेका छन् । १२ भाइ बह्राका कान्छा भाईको रूपमा परिचित यस दहमा माघे संक्रान्तिका दिन मेला लाग्ने र पुजापाठ हुँदै आइरहेको भएपनि संकटकाल सुरू भएपछि मानिसहरूको आवतजावत बन्द हुँदा केही वर्ष ओझेलमा परेको यश दहमा अहिले भने विस्तारै घुम्न आउनेहरूको संख्या बढ्न थालेको राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारीले बताउनुभयो । 

यसै विच तोरे दहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुक्रबार राप्ती प्रेस मञ्च र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा तोरे दहको विकास तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले तोरे दहको प्रचारप्रसारमा सञ्चारकर्मी तथा पत्रकारहरूको महत्त्वपूर्ण भुमिका रहने भएकोले त्यस तर्फ कलम चलाउन सञ्चारकर्मीहरू आग्रह गर्नुभयो । 

अध्यक्ष विष्टले तोरे दह आफैमा प्राकृतिक ताल भएकोले यसमा कंक्रिट प्रयोग गर्न आवश्यक नपरेपनि दह क्षेत्रमा पिकनिक स्पोर्ट, खानेपानी र शौचालयको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने र दहलाई थप व्यवस्थित बनाउन प्रदेश सरकार सँग पनि पहल गर्ने बताउनुभयो । 

अध्यक्ष विष्टले दहको पर्यटकीय रुपमा विकास र संरक्षण गर्न सके आन्तरिक तथा बाह्यिय पर्यटकहरूको आकर्षकको केन्द्र बनाउन सकिने विश्वास समेत व्यक्त गर्नुभयो  । कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वली, वडा नं-९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले बोलेका थिए ।

कार्यक्रममा पत्रकार, जनप्रतिनिधि र पालिकाका कर्मचारीहरूको सहभागीता रहेको थियो । मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्यौपानेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको