Chauthoanga - Nepali News Media
दाङमा बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत

देउखुरीः दाङमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत भएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने एक जना महिला र ११जना पुरुषको सनाखत भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बाँके नेपालगञ्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ वर्षीय दीपक कामी, भारत विहार निवासी ६७ वर्षीय योगेन्द्र राम रहेका छन् । यस्तै, भारत उत्तरप्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका वडा नम्बर २५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम सिल्पकार, बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय अर्जुन थापा रहेको  वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । 

मृतकको शव लमही अस्पतालमा पोष्टमार्टम जारी भइरहेको छ । अहिलेसम्म पाँच जनाको पोष्टमार्टम गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो । 
बसमा चालकसहित ३७ जना सवार थिए । जसमध्ये २४ जना घाइते छन् । घाइते मध्ये चौराहा हस्पिटल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुबाङमा एक, प्रस्तावित भालुबाङ अस्पतालमा एक जना घाइतेको उपचार भइरहेको छ ।  घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। ११ जना मध्यम र नौ जना सामान्य घाइते छन् । प्रहरीले बस चालक सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको