Chauthoanga - Nepali News Media
एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार ओमानस्थित अल अमरेत क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। युएईले नेपालले दिएको १ सय २० रनको लक्ष्य १६ बल बाँकी हुँदै पूरा गर्‍यो।


समूह ‘ए’मा शतप्रतिशत जितसहित सेमिफाइनल पुगेको नेपाल समूह ‘बी’को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको युएईसँग पराजित भएसँगै लगातार दोस्रो पटक एसिया कप खेल्ने नेपालको सपना औपचारिक रुपमा अन्त्य भएको छ। नेपाललाई हराउँदै युएई फाइनल पुग्न सफल रह्यो।

पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

युएईको जितमा अलिशन सर्राफुले ५५ रनको नटआउट इनिङ खेले। त्यस्तै, विष्णु शुकमरनले २८ रन बनाउँदा आसिफ खानले १० रन बनाए। त्यस्तै, सयद हैदरले १४ रन बनाएका थिए।

नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए।

त्यसअघि नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो। नेपालको जितमा सन्दीप जोराको ५० रन सर्वाधिक रह्यो। उनीबाहेक थप दोहोरो स्कोरका रुपमा गुल्सन झाले २० तथा करण केसीले १७ रन बनाए।

नेपालका ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा आसिफ शेख ८ रनमा आउट भए भने कप्तान रोहित पौडेल ५ रनमा पेभिलियन फर्किए। त्यस्तै, कुशल मल्ल ३ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी ५ रनमा पेभिलियन फर्किए। त्यस्तै, सोमपाल कामी २ रनमा आउट हुँदा अभिनाश बोहराले १ र ललित राजवंशी २ रनमा अविजित रहे।

युएईका लागि जुनाइद सिद्दीकी, अली नसीर र बसिल हमदले २–२ विकेट लिँदा ओमिद साफि रहमान, आयान अफ्जाल खान, मुहम्मद फारुखले समान १ विकेट लिएका थिए।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको