Chauthoanga - Nepali News Media
अर्जुन कुमालको शतकका बाबजुद नेपाल 'ए' टोलीमाथि आयरल्यान्ड 'ए' को 'क्लिन स्वीप'

काठमाण्डाै – नेपाल 'ए' टोलीमाथि आयरल्यान्ड 'ए' को 'क्लिन स्वीप' गरेको छ । नेपाल 'ए' टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल 'ए' लाई ६९ रनले हराउँदै आयरल्यान्ड 'ए' ले शृङ्खला 'क्लिन स्वीप' गरेको हो ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड 'ए' ले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ३९ ओभर ४ बलमा २ सय १५ रन बनाउँदा अल आउट भयो । नेपाल 'ए' का अर्जुन कुमालले शतक बनाए पनि जितका लागि पर्याप्त भएन । अर्जुन १ सय १८ बलमा १ सय २ रन बनाए । यस्तै अर्जुन साउदले ३६ रन जोडे । नेपालले 'ए' ले २२ रन अतिरिक्त पायो । बलिङतर्फ आयरल्यान्ड 'ए' का बेन ह्वाइटले ५ र गभिन होवेले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड 'ए' ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । आयरल्यान्ड 'ए' का स्टेफेन डोहेनीले शतक बनाए । डोहेनी १ सय २९ बलमा १ सय ७ रन बनाएर आउट भए । यस्तै पिटर मूरले २५ बलमा ४४ रन जोडे । बलिङतर्फ नेपाल 'ए' का रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए ।

एकदिवसीय क्रिकेट शृङ्खलामा आयरल्यान्ड 'ए' ले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो । यसअघि नेपाल 'ए' टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड 'ए' ले २–१ ले जितेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको