Chauthoanga - Nepali News Media
दाङमा लम्पीस्किन डिजीज संक्रमण बढ्दो क्रममा , ४  सय ७७ गाईगोरु मरे

दाङ -  दाङमा पशुचौपायाको छालामा हुने संक्रामक रोग (लम्पीस्किन डिजीज) बाट अहिलेसम्म ४  सय ७७ गाईगोरु मरेका छन् । दाङका दशैवटै पालिकाभर यो रोग फैलिएको छ । रोगबाट २२ हजार छ सय ९५ गाईगोरु र भैंसी बिरामी परेको पालिकाको पशु शाखाले जानकारी दिएका छन् । पालिकाका पशुशाखाका अनुसारा रोगको संक्रमण केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको छैन । 
दाङका १० वटै पालिकाका पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण रोकिएको छैन । दाङमा राजपुर गाउँपालिकामा सबैभन्दा धेरै पशुहरु लम्पीस्किन रोगको शिकार भएका छन् । राजपुरमा नौ हजारमा लम्पी स्किन संक्रमण भएको सो पालिकाले बताएको छ । जसमा दुई सय भैंसी छन् । राजपुरमा एक सय २० पशु संक्रमणबाट मरेका छन् ।त्यसपछि घोराही उपमहानगरपालिकामा छ हजार पशु लम्पी स्किनबाट संक्रमित भएका छन् । 

जसमा एक सय ५० भैंसीमा संक्रमण देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । गत फागुनदेखि संक्रमण देखिएको बंगलाचुली गाउँपालिकामा लम्पी स्किनको संक्रमण बढ्दो अवस्थामै छ । पशु शाखाका प्रमुख गोविन्द नेपालीका अनुसार  बंगलाचुलीमा आठ सय पशु लम्पी स्किनबाट बिरामी परेका छन् भने १८ पशु मरेका छन् ।  लमही नगरपालिकाका पशु शाखा प्रमुख शिवराज न्यौपानेले झण्डै सात सय पशु लम्पी स्किनबाट संक्रमित भएका र सातवटा मरेको जानकारी दिनुभयो ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा  १२ देखि १५ सय पशु संक्रमित भएका र २५ पशु मरेका छन् ।शान्तिनगर गाउँपालिकामा झण्डै दुई हजार पशु लम्पी स्किनबाट संक्रमित भएको र १० वटा मरेको, दंगीशरण गाउँपालिकामा एक हजार एक सय पशु लम्पी स्किनबाट बिरामी भएका छन् भने २५ वटा मरेका छन । राप्तीमा लम्पी स्किन रोगबाट आठ सय ४५ पशु संक्रमित भएका छन् भने ४९ वटा मरेका छन् । यसैगरी बबई गाउँपालिकामा छ सयबढी संक्रमित भएका र एक सयभन्दा बढी पशु मरेको पशु शाखा प्रमुख श्याम प्रकाश चौधरीले जानकारी दिनुभयो । गढवा गाउँपालिकामा एक सय ५० बढी पशु संक्रमित भएका र २५ वटा मरेको पशु शाखाका अधिकृत खेमबहादुर चौधरीले जानकारी दिनुभयो । 


दाङमा पशुजन्य महामारी रोगका लागि कुनै पूर्वतयारी नहुँदा र बजेटको आवश्यक व्यवस्था नगर्दा समयमै लम्पी स्किन नियन्त्रण नभएको हो ।  भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले चालु आर्थिक वर्षमा खोप किन्न नसकेको उल्लेख गर्दै आकस्मिक कोषको रकम र दैनिक उपचार सेवाको रकमबाट लम्पी स्किन रोगको लागि नमूना परीक्षण र औषधि वितरण गरिएको जानकारी दिनुयभयो ।  

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको