Chauthoanga - Nepali News Media
किसानको गहुँबालीमा कालो सिन्दुरे रोगको प्रजाति फेला

काठमाण्डौ – नेपालमा कृषकले लगाएको गहुँबालीमा कालो सिन्दुरे रोगको प्रजाति 'यूजी–९९' को 'टीटीकेटीटी'  पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिकले पहिलोपटक यो रोगको प्रजाति नेपालमा पनि देखिएको बताएका छन् । 

केन्द्रका प्रमुख सुरज बैद्यकाअनुसार वैज्ञानिकहरुले गएको कात्तिक २२ गते देलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रमा गाईवस्तुको आहाराको लागि हरियो घाँसको रुपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो रोगको प्रजाति भेटिएको हो । ती ठाउँका दुईवटा गहुँबारीबाट संकलित नमूनालाई 'ग्लोबल रष्ट रिसर्च सेन्टर' डेनमार्कको प्रयोगशालामा परीक्षण गर्दा 'टीटीकेटीटी' नामक 'यूजी–९९' को प्रजाति देखा परेको हो ।

यूजी–९९ को 'टीटीकेटीटी' प्रजातिले अफ्रिकन देशमा गहुँबालीमा ८० प्रतिशत भन्दा बढी क्षति पुर्‍याएको पाइएको छ । हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले यो देशभित्र र बाहिर फैलिएमा भविष्यमा यो क्षेत्रका गहुँबालीमा ठूलो क्षति पुर्‍याउन सक्ने आँकलन नार्कका वैज्ञानिकले गरेका छन् ।

गहुँमा लाग्ने रोगहरुमध्ये सिन्दुरे प्रमुख रोग हो । यो तीन प्रकारको हुन्छ : तराईमा खैरो, पहाडमा पहेंलो र पहाडमा फाट्टफुट्ट कालो सिन्दुरे रोग देखा पर्छ । नेपालमा यसअघि कालो सिन्दुरे रोगबारे कुनै तथ्य पत्ता नलागे पनि झण्डै २३ वर्षअघि अफ्रिकाको युगाण्डामा यो प्रजातिको व्युत्पत्ति भई गहुँबालीमा ठूलो नोक्सान गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको