Chauthoanga - Nepali News Media
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई सोधपुछ नगरिने

काठमाण्डाै - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरि ललिता निवास प्रकरणको प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरुको दबाबपछि सीआईबीले नेपाल र भट्टराईसँग बयान नलिइ अनुसन्धान टुङ्ग्याउन लागेको हो ।

यसअघि साउन २१ गते सर्वोच्च अदालतले सरकारी जग्गा व्यक्तिका नाममा लैजान मन्त्रिपरिषदबाट भएका निर्णयका ‘निर्णयाधिकारी’लाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि सीआईबीले पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई बोलाएर सोधपुछ गर्ने तयारी गरेको थियो । तर गएको सोमवार सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि सीआईबी पछि हटेको हो ।

बैठकमा सत्तारुढ दलका नेताहरुले सर्वोच्चको आदेशमाथि असन्तुष्टि जनाउँदै यसलाई न्यायिक सक्रियता भन्दै प्रश्न उठाएका थिए । महान्यायाधिवक्ता दीनमणि पोखरेलको समेत उपस्थितिमा बसेको बैठकमा दुवै नेताहरुलाई बयान नलिइ मुद्दा अघि बढाउने वातावरण बनाउन सत्तारुढ दलहरु सहमत भएका थिए । त्यसपछि दुवै नेतासँग बयान लिने तयारीमा रहेको सीआईबी पछि हटेको हो ।

सीआईबीले भोलि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । ललिता निवास प्रकरणमा असार १२ गतेयता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित २० जनालाई पक्राउ गरेर सीआईबीले बयान लिइसकेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको