Chauthoanga - Nepali News Media
वडाध्यक्षका बदिया भाले !

घोराही : ३२ वर्षीय विवेक बुढाथोकी जनप्रतिनिधि हुनुहुन्छ तर जनताको सेवाबाट बचेको थोरै समय व्यवसायमा लगाउनुहुन्छ र त जनताको सेवा र कुखुरा पालन व्यवसाय सँगसँगै लैजानुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित विवेक जति जनताको काममा खटिनुहुन्छ बचेको समयमा त्यतिनै खटिएर कुखुरा फार्ममा काम गर्दा आम्दानी पनि मनग्यै आर्जन गर्नुभएको छ ।

घोराही उपमनपा–५ फूलबारी टोलमा २०७४ देखि आफ्नै १० कट्ठा जमिनमा २५ लाखको लगानीमा विवेकले विनिसा लोकल बदिया कुखुरा फार्म सञ्चालन गर्नुभयो । त्यही फार्म अहिले पनि निरन्तर छ । फार्ममा अहिले पनि एक हजारबढी बदिया भाले छन् तर तिनको स्याहार गर्ने छुट्टै मान्छे छैनन् । उनै वडाध्यक्ष र पत्नी सिर्जना बुढाथोकी एक हजार बदिया भालेका स्याहारकर्ता हुनुहुन्छ । ‘बिहानै उठ्यो दानापानी ग¥यो अनि जनताको काममा हिँड्यो’– वडाध्यक्ष एवं व्यवसायी विवेकले भन्नुभयो– ‘पहिलेदेखि नै गर्दै आएको काम हो । किन छोड्नु । मेरो परिवारको खाने बाटो नै यही हो ।’ बिहान विवेक आफैले स्याहार गरेपछि दिउँसो र साँझ सिर्जनाले हेर्नुहुन्छ । ब्रोइलर जस्तो स्याहार गर्नु नपर्ने लोकल बदिया भालेको झण्डै एक वर्षमा एक सिजन सकिन्छ ।

एक महिनाका भालेलाई अर्घाखाँचीबाट प्रतिगोटा दुई सय रुपैयाँमा ल्याउनुहुन्छ विवेकले । अरु तीन महिना पालेपछि बास्न थाल्छन् र प्रतिगोटा ५० रुपैयाँ तिरेर प्राविधिकबाट बदिया बनाउनुहुन्छ । १÷२ प्रतिशत मर्छन्, त्यतिकै मात्रामा अरु कारणले पनि मर्छन् । बचेकाहरुलाई अरु ५÷६ महिना पालेपछि विवेकले प्रतिगोटा ३ हजारका दरले बिक्री गर्नुहुन्छ । वर्षमा सरदर ६० लाखका भाले बिक्री गर्ने विवेकले ३० लाख जति आम्दानी हुने बताउनुहुन्छ । विवेकलाई बजारको कमी छैन । कतिपय घरमै आउने, नभए दाङकै बजारमा तानातान हुने, धेरै भए पोखरा, काठमाडांैलगायतका ठूला शहरमा पनि पठाइने उहाँले जानकारी दिनुभयो ।

‘बजारको चिन्ता छैन । ३० लाख जति दानापानीमा खर्च हुन्छ । धेरै दुख पनि छैन । फेरि काम गरेर को सानो हुन्छ र ?’– वडाध्यक्ष विवेकले भन्नुभयो– ‘वर्षमा ३० लाख बचाएपछि मलाई अरु के चाहियो ? जब आम्दानी गरिदैन तब अरुको लोभ लाग्छ । त्यही भएर भ्रष्टाचारमा डुबिन्छ । मेरो आम्दानी छ । म निस्वार्थ भएर जनताको काम गर्छु ।’ उहाँले बचेको समय उद्यममा सदुपयोग गर्दा मात्रै आत्मनिर्भर हुन सकिन्छ । उहाँले जनप्रतिनिधि हुँदा व्यवसाय छोड्ने होइन व्यवसाय नभएका सबै जनप्रतिनिधिहरु उद्यममा जोडिनुपर्ने बताउनुहुन्छ । नयाँयुगबोध दैनिक बाट 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको