Chauthoanga - Nepali News Media
राष्ट्रिय क्रिकेटर टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले सन्दीप थुनामुक्त भएको जानकारी दिनुभयो ।

उच्च अदालत पाटनले बलात्कार आरोप लागेका निलम्बित कप्तान सन्दीपलाई बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको हो । सोही आदेशअनुसार सन्दीपले आज (शुक्रबार) दिउँसो २० लाख धरौटी बुझाएसँगै थुनामुक्त हुनुभएको जानकारी सूचना अधिकारी दाहालले दिनुभयो । थुनामुक्त गर्न केन्द्रीय कारागारबाट सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

हिजो उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले सन्दीपलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भएका सन्दीपले अब काठमाडौं उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ । साथै पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीपविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । सन्दीपका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । सन्दीपमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको थियो । सन्दीपले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिनुभएको थियो । सन्दीपलाई गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको