Chauthoanga - Nepali News Media
पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला

काठमाडौँ - बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाउनु भएको छ । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिनुभयो । 

अभियोग दाबी नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो । वाग्लेले शाह अब जेलमुक्त हुने पनि बताउनुभयो । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उहाले उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पोखराले शाहलाई सफाइ दिने फैसला सुनाएको छ । 

यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिएको थियो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिनुभएको थियो । 

तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उहाँ थुनामुक्त हुन सक्नुभएको थिएन। अब भने शाह थुनामुक्त हुनुहुनेछ । नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । 

एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि अनुसन्धान गरेर तनहुँ प्रहरीले २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएको दुई दिनपछि २०७८ चैत १० गतेको आदेशबाट उनलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन’ भन्दै पुर्पक्षका लागि थुनामा पठाइएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको