Chauthoanga - Nepali News Media
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्वास्थ्य सेवा सुरु

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको स्वास्थ्य सेवा सुरु भएको छ । प्रतिष्ठानमा उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि पीडित पक्ष र अस्पतालबीच भएको वार्तामा गएराति सहमतिमा जुटेपछि अस्पतालको सेवा सुचारु भएको हो । 

बालकको मृत्यु पछि आफन्तले गरेको आन्दोलनका कारण प्रतिष्ठानको सेवा दुई दिनदेखि बन्द रहेको थियो । दुई पक्षको वार्तामा पीडित र अस्पताल पक्षबीच घटनाको छानबिन गर्ने र घोराही–३ का वडा अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउने, शैक्षिक योग्यताअनुसार मृतकको परिवारलाई रोजगारी दिने, आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने र त्यसका लागि घोराही उपमहानगरपालिकालाई राहत उपलब्ध गराउन अनुरोध गर्ने सहमति भएको छ । यस्तै पीडित परिवारका लागि सहयोग गर्न संघ र प्रदेश सरकारका समक्ष आग्रह गर्ने सहमति पनि भएको छ ।

छारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको अस्ति बिहान ज्यान गएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको भन्दै आन्दोलन गरेका थिए । वार्ता पछि मृतक वालकका परिवारले आज बिहान शव बुझेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको