1709517340.jpg)
दाङ - दाङको घोराहीमा जारी १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० आज १३ देशका कलाकारहरुको प्रस्तुति रहने भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा सोमवार नेपाल सहित १३ देशका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
महोत्सवको चौथो दिन फागुन २१ गते नेपाल सहित अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समितिका संयोजक बसन्त जोशीले जानकारी दिनुभयो ।
आज महोत्सवमा नेपाली कला संस्कृति झल्कने लाखे नाच, झाक्री नाच, बंगलाचुलीको भैलो, गढवाको अवधी नाच, कर्णाली प्रदेशको राउटेको कलासस्कृति झल्कने बबईको प्रस्तुति रहने छ । यस्तै विभिन्न जातजातिको कला संस्कृति झल्कने प्रस्तुति पनि रहने छ ।
कार्यक्रम हुनुपूर्व घोराहीमा सम्पूर्ण देशका कलाकारहरुसहित आफ्नो देशको कला संस्कृति झल्ने झाँकी सहित घोराहीमा सांस्कृतिक र्याली हुने छ । दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पुर्याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य रहेको छ । महोत्सवमा प्रवेशकालागी एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ । आज १३ देशका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा सहभागी हुन दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।