Chauthoanga - Nepali News Media
बन्दको रिपोर्टिङमा गएका पत्रकारसहित ४ जना तुलसीपुरबाट गिरफ्तार

घोराहीः नेपाल बन्दको रिपोर्टिङमा खटिएका जनपत्रकार संगठन दाङ जिल्लाका अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जनालाई तुलसीपुरबाट प्रहरीले गिरफ्तार गरेको छ ।
शान्तिपूर्ण ढंगले बन्दलाई सफल बनाउन सडकमा गएका नेकपाको सहायक संगठन युवा संगठन नेपाल, दाङ जिल्ला अध्यक्ष सुदर्शन,उपाध्यक्ष दिपेन्द्र,मजदुरका सिसिएम संजय र बन्दको समाचार संकलनका लागि खटिएका जनपत्रकार संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीलाई तुलसीपुरबाट प्रहरीले गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जनालाई घोराहीको सर्राबाट प्रहरीले गिरफ्तार गरेको नेकपा दाङ जनाएको छ ।

शान्तिपूर्ण ढंगले बन्द गराउन सडका गएका विद्यार्थी तथा नेताहरूलाई प्रहरीले बिना कारण गिरफ्तार गर्नु निन्दनीय कार्य भएको र घोराही- तुलसीपुरबाट गिरफ्तार गरिएका सबै जनालाई नि:सर्त यथासिघ्र रिहाई गर्नुपर्ने नेकपा दाङले बताएको छ ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले गत साउन २७ गते नै संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

 
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको