Chauthoanga - Nepali News Media
लुम्बिनि प्रदेशको मुख्यमन्त्रीमा एमाले र माओवादी दुबैको दाबी

दशरथ घिमिरे

देउखुरी - लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य शुरु भएको छ । राजनीतिक दलले सरकार गठनको लागि पहल लिएका छन् । केन्द्रीय राजनीतिक समीकरणको आधारमा यो प्रदेशमा सात दलीय गठबन्धनको सरकार बन्ने पक्का जस्तै भइसकेको छ तर कसले शुरुमा नेतृत्व गर्ने भन्ने बारेमा एमाले र माओवादीबीच सहमति भने जुट्न सकेको छैन ।

एमालेले नेतृत्व गर्दा संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्नुहुनेछ भने माओवादीले नेतृत्व गर्दा संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नुहुनेछ तर केन्द्रस्तरमा हुने सहमतिको आधारमा प्रदेशमा सरकारको बाँडफाँड टुंगोमा पुग्नेछ ।

पुस महिनाभित्र मुख्यमन्त्री, सभामुख चयनको विषय टुंगोमा पु¥याउन दलहरुलाई संवैधानिक दबाब छ । दलहरुले सहमति गरे माघ ३ मा बस्ने पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख चयन गरिनेछ भने प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुहुनेछ । एमाले–माओवादीको गठबन्धन भएपछि यी दुई दलबाटै मुख्यमन्त्री र सभामुख चयन हुनेछन् । संविधानको व्यवस्थाअनुसार निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाएको ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने हुन्छ । त्यस आधारमा पुसको अन्तिम सातासम्म मुख्यमन्त्री चयन गर्नुपर्नेछ । प्रदेशसभाको पहिलो बैठक शुरु भएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था संविधानको धारा १८२ मा रहेको छ ।

‘मुख्यमन्त्रीको टुंगो करिब–करिब लागि नै सकेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई नै निर्णयको जिम्मा रहेकाले निर्णय बाहिर आउन बाँकी छ’– एमालेका एक नेताले भन्नुभयो– ‘प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सातवटै प्रदेशमा सहमति हुनेछ ।’

मुख्यमन्त्रीका लागि बागमती र लुम्बिनी प्रदेशमा कुन पार्टीले लिने अझै निक्र्यौल भएको छैन तर एमालेले लुम्बिनीको नेतृत्व पाएपछि बागमतीमा माओवादीको नेतृत्व हुनेछ । एमालेले मुख्यमन्त्री पाएपछि लुम्बिनीमा माओवादी केन्द्रले सभामुख पाउनेछ । सभामुखमा माओवादीबाट तुलराम घर्ती हुने सम्भावना छ । घर्ती सभामुखको लाइनमा रहेको माओवादीका एक नेताले बताए । ‘दाबी त मुख्यमन्त्रीमै हो तर माथि नेताहरुले सहमति गरे भने सभामुख हामीले स्वतः पाउनेछौं’– ती नेताले भन्नुभयो– ‘पार्टीले एउटा निर्णय त गर्ला, कसलाई सभामुख बनाउने भनेर ।’

एमालेबाट मुख्यमन्त्रीमा सम्भावना रहेका लीला गिरी यसअघि प्रदेश मन्त्री भइसक्नुभएको छ । शंकर पोख्रेल नेतृत्वको सरकारमा उहाँले करिब ३ वर्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । एमालेले सभामुख पाउने अवस्था आएमा भने भोजप्रसाद श्रेष्ठ वा दिनेश पन्थी सभामुख हुने चर्चा छ । माओवादीले मुख्यमन्त्री पाएको अवस्थामा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा जाने नेताहरुले बताएका छन् ।

लुम्बिनी प्रदेशमा एमालेको २९, माओवादीका नौ, नागरिक उन्मुक्ति र राप्रपाका चार÷चार, जनमतका तीन सांसदको गठबन्धन छ । जसपाले पनि केन्द्रमा गठबन्धन सरकारलाई समर्थन गरेको छ । जसपाका लुम्बिनीमा तीन सांसद छन् । यद्यपि राप्रपा र जसपा केन्द्र सरकारमा सहभागी नभएकाले प्रदेशमा के गर्छन् भन्ने टुंगो छैन ।

संविधानमा के छ ?

नेपालको संविधानको धारा १६८ को उपधारा ९१० मा प्रदेश मन्त्रिपरिषद्को गठनबारे प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र उनकै अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ तर लुम्बिनीमा कुनै पनि दलको बहुमत छैन । जसले गर्दा धारा १६८ को उपधारा २ ९१० बमोजिम सरकार गठन हुनेछ । कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको