Chauthoanga - Nepali News Media
योगले फेरिदै जीवनशैली

दाङ- लमही नगरपालिका–५ की सीमा भट्टराईको दिनचर्या हरेक बिहान साढे ४ बजेबाट शुरु हुन्छ । घरनजिक सार्वजनिक बगैंचामा हुने नियमित योग अभ्यासमा भाग लिएपछि दिनको शुरुवात हुन्छ । बिहान गरेको योगले दिनभर शरीरमा स्फूर्ति र मनमा उत्साह थप्छ । ‘निद्रा र पैसाले कसैलाई पुग्दैन । बिहानै उठ्ने बानीले मानिसलाई छुट्टै नयाँ जीवन दिएको महसुस गरेको छु’– उहाँले भन्नुभयो– ‘बिहान अबेरसम्म सुत्ने व्यक्ति र बिहानै उठ्ने व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा फरक पाउँछु ।’ योगले गर्दा फुर्तिलो महसुस गराएको उहाँको अनुभव छ । ‘मलाई दीर्घरोग छैन तर पनि योगले रोगदेखि सुरक्षित बनाएको जस्तो लाग्छ’– उहाँले भन्नुभयो– ‘जुनसुकै काम गर्न हिम्मत दिएको छ ।’

दाङमा सीमा जस्ता दश हजार बढी साधक तयार भएका छन । योगले मानिसको जीवन पद्धतिलाई सरलिकृत गरेको छ । शारीरिक, मानसिक र संवेगात्मक विकासलाई टेवा पु¥याएको छ । कुनै समय दाङमा योग अभ्यास गर्ने साधकहरु सीमित थिए । प्रशिक्षक पाउन मुस्किल थियो तर अहिले जिल्लाका एक सय वडा र १० पालिकामा योग पुगेको छ । अस्थायी योग अभ्यास गर्ने स्थान हरेक वडामा पुगेको छ तर स्थायी योग अभ्यास केन्द्र ७१ वटा बनेको पतञ्जलि योग समिति दाङका अध्यक्ष उदयबहादुर डाँगीले बताउनुभयो । ‘जिल्लामा तीन हजारको संख्यामा योग शिक्षक तयार हुनुभएको छ । १० हजार योग साधक हुनुहुन्छ’– डाँगीले भन्नुभयो– ‘हरेक विद्यालय तथा कारागारमा समेत योग अभ्यास गराउने काम भएको छ ।’

पछिल्ला दिनमा स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि योगलाई अपनत्व गरेका कारण नीति तथा कार्यक्रमदेखि बजेटसम्म विनियोजन गरिएको छ । लमही क्षेत्रमा योग अभ्यास गर्न थालेको धेरै भए पनि स्थायी ठाउँको अभाव छ । पतञ्जलि योग समितिले निश्चित ठाउँ माग्न थालेको लामो अवधि भएको छ । पछिल्लो पटक योग साधना केन्द्र स्थापना गर्न लमही नगर विकास समितिले लिजमा जग्गा उपलब्ध गराउने निर्णय पारित गरेको छ । ‘आफ्नै साधना केन्द्र नहँुदा गाह्रो हुँदोरहेछ’– पतञ्जलि योग समिति लमहीका अध्यक्ष भेषराज भट्टराईले भन्नुभयो– ‘कहिले बाटोमा, कहिले बगैंचामा योग गर्नुपरेको थियो ।

अब आफ्नै साधना केन्द्र बन्यो भने सजिलो हुनेछ ।’ कोरोना भाइरस संक्रमण फैलिएको समयमा त योगलाई उपचार विधिसँग समेत जोडेर अभ्यास गरियो । योगलाई मानिसको स्वास्थ्यसँग र उसको सर्वाङ्गीण विकाससँग जोडेर हेर्न थालिएको छ । जसका लागि सरकारले पनि प्राथमिकता दिएको छ । योग दिवस मनाउन सरकारीस्तरबाट समेत कार्यक्रम आयोजना गर्न थालिएको छ ।

७० प्रतिशत महिला साधक योगमा महिलाको सहभागिता र अभ्यास दुबैमा महिलाको संख्या उल्लेख्य रहेको छ । ७० प्रतिशत बढी महिला योग साधक रहेको जिल्ला महिला पतञ्जलि योग समितिका अध्यक्ष सहना श्रेष्ठले बताउनुभयो ।

‘योग अभ्यासमा पुरुषभन्दा महिलाको सहभागिता र उत्साह उल्लेख्य छ’– श्रेष्ठले भन्नुभयो– ‘योगले मानव जीवनपद्धति समेत फेरिदिन्छ ।’ योगले मानव स्वास्थ्य, नैतिक शिक्षा, सकारात्मक शिक्षा र योग विज्ञानसँग पनि जोडिएकाले यसको प्रसार अन्तर्राष्ट्रियस्तरमा तीब्र छ । ‘रोग त हटाउ‘ँछ नै, कुनै पनि औषधिले ठीक नभएपछि योगको शरणमा आउने गर्नुभएको छ’– महिला अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘रोगी मात्रै होइन, निरोगी मान्छेहरु पनि योगमा जोडिनुभएको छ ।’

दाङमा यसरी भित्रिएको थियो योग

दाङमा शुरुमा योग अभ्यास २०६३ सालमा भित्रिएको हो । टेलिभिजनका पर्दामा देखिने पतञ्जलि योगलाई संस्थागतरुपमा जिल्लामा भिœयाइएको थियो । देवराज आचार्य, घनश्याम अधिकारी, प्रेम शाह, युवराज अधिकारी, तोयनाथ योगीले पतञ्जलि योगलाई भिœयाउनु भएको थियो । यस भन्दाअघि जिल्लामा मनोक्रान्ति योग, ब्रह्माकुमारी विश्वविद्यालयको राज योगको अभ्यास थियो । अहिले जिल्लामा जीवन विज्ञान, आर्टअफ लिभिङलगायतको अभ्यास छ । २०६३ सालमा हरिकरमा पतञ्जलिको अभ्यास गरेर पाँच जनाले जिल्लामा औपचारिकरुपमा योग शुरु गर्नुभएको थियो ।

योगा किन ?

-योगाको माध्यमबाट निरोगी बन्न र सामान्य मानिसलाई पनि स्वस्थ जीवन पद्धतिका लागि सघाउ पु¥याउन ।

-योगा एक किसिमको व्यायाम पनि हो । यसले शरीरमा रक्तसञ्चार बढ्छ । साथै शरीरका सबै अंगमा अक्सिजन पुग्ने हँुदा रोग प्रतिरोधी क्षमता समेत बढाउँछ ।

-स्वस्थ रहन, आत्मविश्वास बढाउन, ।

-तनाव व्यवस्थापन गर्न र उच्च रक्तचाप तथा मधुमेहका बिरामीका लागि समेत योगा आवश्यक छ । - नयाँयुगबोध राष्ट्रिय दैनिकबाट 

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको