Chauthoanga - Nepali News Media
राति मोबाइल चलाउनेहरुलाई  देखिन्छन् यस्ता समस्या

काठमाडौँ - आजभोलि स्मार्टफोन नचलाईकन कसैको पनि दिन कट्दैन । अवस्था यस्तो छ कि राति सुत्ने बेलामा पनि धेरैजसो मानिसहरू फोनमै टाँसिएर बसिरहेका हुन्छन् । तर यस्तो गर्नु स्वास्थ्यको लागि राम्रो होइन । विशेषगरी राति सुत्ने बेलामा स्मार्टफोन प्रयोग गर्नबाट सकेसम्म आफूलाई जोगाउनु होस् ।

ब्लु लाइट एक्सपोजरः

स्मार्टफोनबाट ब्लु लाइट (निलो प्रकाश) निस्किन्छ । यसले शरीरको सर्काडियन रिदममा अवरोध उत्पन्न गराएर मेलाटोनिनको उत्पादनमा दबाब सृजना गर्न सक्छ । मेलाटोनिन निद्रालाई नियमन गर्ने हर्मोन हो । सुत्ने बेलामा ब्लु लाइटको एक्सपोजरले निद्रामा बाधा पुर्‍याउँछ र निद्राको स्तरमा पनि नकारात्मक प्रभाव पार्न सक्छ ।

निद्रामा खललः
सुत्नु अघि स्मार्टफोनको प्रयोगका कारण दिमाग सक्रिय भइरहन्छ र सुत्न समस्या हुन थाल्छ । तपाईँले फोनमा इमेल चेक गरिरहनु भएको छ वा सामाजिक सञ्जाल चलाइराख्नु भएको छ वा गेम खेलिरहनु भएको छ भने यस्तोमा तपाईँको दिमाग सक्रिय भइरहन्छ । रिल्याक्स भएर सुत्नमा समस्या हुन सक्छ ।

बढ्न सक्छ तनाव:

सुत्नुअघि फोनमा झुन्डिरहँदा प्रयोगकर्ताको तनावको स्तर बढ्न सक्छ । विशेषगरी सामाजिक सञ्जालमा कसैसँग कुरा गरिरहनु भएको छ वा कुनै नकारात्मक कन्टेन्ट हेरिरहनु भएको छ भने यसले तपाईँको तनावको स्तर बढाउन सक्छ । एङ्गजाइटी गराउन सक्छ ।

आँखाको समस्या:

तपाई लामो समयसम्म फोन चलाउनु हुन्छ । खास गरी सुत्नुअघि अलि कम उज्यालो वा अँध्यारोमा मोबाइल चलाउनु हुन्छ भने स्क्रिन र आसपासको कन्ट्राष्टलाई एड्जष्ट गर्न  आँखाले सामान्य भन्दा धेरै मेहनत गर्नुपर्छ । अँध्यारोमा ढिलासम्म स्मार्टफोन चलाउँदा आँखा सुख्खा हुने, चिलाउने, पोल्ने जस्ता अनेकौँ समस्या निम्तन सक्छ ।

निद्रा नलाग्ने समस्या: 

ओछ्यानमा स्मार्टफोनको प्रयोगले अनिद्राको खतरा बढ्छ । फोनमा एकपछि अर्को गर्दै फरक–फरक खालको जानकारी हेरिरहँदा दिमाग शान्त हुन पाउँदैन । यस्तोमा निद्रा नआउने समस्या बढ्न थाल्छ  ।

स्लिप हाइजिनलाई राम्रो बनाउन विज्ञहरुले सामान्यतः किताब पढ्न, मनतातो पानीले नुहाउन वा रिल्याक्सेशनका तरिका अपनाउने जस्ता गतिविधिमा संलग्न हुन सुझाव दिने गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको