Chauthoanga - Nepali News Media
राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै

काठमाडौं - राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ ।  बैठकमा राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफल हुने छ । 

बैठक आज बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ । बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन  गर्ने कार्यक्रम रहेको छ । 


यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् गृहमन्त्री रवि लामिछाने, जसपा अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् पूर्वमन्त्री रन्जिता श्रेष्ठले पनि सम्बोधन गर्नुहुने  छ । 

सरकारको ५ वर्षे रणनीति बनाउन राष्ट्रिय विकास परिषदको बैठक महत्वपूर्ण मानिन्छ । यो बैठकमा सहभागीहरुले दिएको सुझावलाई समेटेर राष्ट्रिय योजना आयोगले नेपालको ५ वर्षे योजना बनाउने गर्दछ । त्यसैले राष्ट्रिय विकास परिषदको बैठकलाई सरकारले आयोजना गर्ने सबैभन्दा ठूलो कार्यक्रमको रुपमा पनि लिइन्छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको