Chauthoanga - Nepali News Media
प्रधानमन्त्रीले आज निर्देशनात्मक सम्बोधन गर्नुहुने

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज (मङ्गलबार) निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उहाँले यस अघि छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिन लाग्नुभएको हो ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गर्नुभएको थियो । पुस ११ मा उहाँले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गर्नुभएको थियो ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गर्नुभएको थियो । केही सचिव र विभागका प्रमुखले अझै आ–आफ्नो विभागको कार्य विवरणबारे प्रस्तुति दिन बाँकी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गर्नुभएको थियो । उहाँहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको