Chauthoanga - Nepali News Media
आज मध्यरातदेखि मौन अवधि सुरुहुँदै, जान्नुहोस् के के गर्न पाईदैन ?

काठमाडौँ : यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला-गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता र मापदण्ड उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । मौन अवधिका लागि जारी गरिएका निर्देशन पालना भए नभएको निगरानी, नियमन र अनुगमन गर्न र आवश्यक परे उल्लंघनकर्तामाथि कारबाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई विशेष परिपत्रमार्फत अधिकार प्रत्यायोजन गरिएको पनि उनले जानकारी दिनुभयो ।

मौन अवधिमा मतदाता प्रभावित पार्ने दुष्प्रयास हुन सक्ने भन्दै आयोगले त्यसलाई रोक्न र त्यस्ता अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सूचना संकलकका रूपमा सयभन्दा बढी स्थानमा ‘सूक्ष्म अनुगमनकर्ता’ खटाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघन भए,नभएको कडाइका साथ अनुगमन गरिने जानकारी दिनुभयो ।

उम्मेदवार र उनीहरूका फ्यानहरूका सामाजिक सञ्जालमा आचारसंहिताविपरीत ‘स्पोन्सर्ड पोस्ट’ हुन सक्ने भन्दै आयोगले मौन अवधि सुरु हुनुअगावै त्यस्ता सामग्री हटाउन र नयाँ पोस्ट नगर्न पनि निर्देशन दिएको छ । आयोगको निर्देशनविपरीत कुनै सामग्री पोस्ट भए नभएको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।

आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, गोष्ठी गर्न पाइँदैन । मतदान स्थलको तीन सय मिटर वरिपरि राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न पाइने छैन । त्यस्तो सामग्री राखिएको भए मौन अवधि सुरु हुनुअघि हटाउन आयोगले निर्देशन दिएको छ । मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न गराउन पाइने छैन ।

आयोगको निर्देशनअनुसार मतदानका दिन शुक्रबार राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन पाइने छैन । उम्मेदवारको पहिचान देखिने सांकेतिक पोसाक, वस्तु लगाउन, बोक्न र देखाउन पनि पाइँदैन । कुनै पनि सवारी प्रयोग गरी आउजाउ गर्न वा कसैलाई लैजान वा ल्याउन पाइने छैन ।

मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान पाइने छैन । नशालु पदार्थ, मादक पदार्थ सेवन गरेर मतदानमा जान पाइँदैन । मतदाता प्रभावित पार्न दल तथा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै संकेत अंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप भेस्ट, लोगो, म्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न रोक लगाइएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको