Chauthoanga - Nepali News Media
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु

दाङ – दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा अक्सिजनको सिलिण्डर विष्फोट हुँदा एक विरामीको मृत्युभएको छ । अक्सिजनको सिलिण्डर विष्फोट हुँदा घोराही–३ बर्गद्धी निवासी ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृगीरोगका विरामी रहेका नेपालीलाई प्रतिष्ठानको एमआरआई कक्षमा एमआरआई गर्न लैजाँदै गर्दा सिलिन्डर अचानक विष्फोट भई एमआरआई मेसिनमा गएर बजारीँदा बालक गम्भिर घाईते भएका थिए । 

गम्भिर घाईते भएका बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा बलकको ज्यान गएको दाङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो ।  मृतक वालकलाई मंगलबार साँझ राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचारका लागि ल्याइएको र चिकित्सकको सल्लाह अनुसार बालकलाई भर्ना गरिएको थियो ।

अस्पतालमा भर्ना गरेको १२ घण्टापछि बालक विस्तारै निको हुँदै गएको तर डाक्टरले बेहोस हुनुको कारण एमआरआई गरेपछि मात्र थाहा हुने भनेपछि बालकलाई एमआरआई कक्षमा लगिएको बालकका आफन्त रुपा नेपालीले जानकारी दिनुभयो । अस्पतालको लापर्बाहीका कारण घटना भएको आफन्तको दाबी छ । मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ । अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको