Chauthoanga - Nepali News Media
के हो लम्पी स्किन  ? कसरी बचाउने पशु चौपाया ?

दाङ - यत्तिखेर पशुचौंपायमा देखिने लम्पी स्किन रोग दाङ सहित देशब्यापीरुपमा फैलिएर ७७ वटै जिल्लामा फैलिएको छ । पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत ड. चन्द्र ढकालका अनुशार हालसम्म लम्पीस्किन रोगबाट नेपालमा २८ हजारभन्दा बढी पशु चौंपायाहरु मरीसकेका छन् भने अर्बौ रुपैंयाको क्षती भइसकेको छ ।

हालसम्म ७ लाख ४२ हजार १ सय २४ पशु सक्रमित भइसकेका छन् भने अहिले पनि यस रोगबाट २ लाख, ३२ हजार ३ सय ९ पशु चौंपायाहरु सकृय संक्रमित छन् । विभागका अनुसार हालसम्म दुई लाख ५० हजार ७ सय पशुमा खोप लगाइसकिएको छ ।

पशु सेवा विभागले यस प्रकोपबाट बचाउनका लागि विभिन्न उपायहरू सुझाएको छ । संक्रमित पशुहरूलाई अलग्गै राखेर उपचार गर्नेदेखि संक्रमति पशु चौपायाहरूलाई रोगको प्रकृति हेरेर उपचार गर्न विभागले सुझाएको छ । 

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि
लम्पी स्किन रोग गाई/गोरू / राँगा/भैंसीमा क्याप्रीपक्स भाइरस अन्तर्गतको लम्पी स्कीन डिजिज भाइरसका कारण लाग्ने रोग हो। यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने झिँगा (डाँस), लामखुट्टे, किर्ना, भुसुना जस्ता किराहरूको टोकाइ, सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा सङ्क्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा सजिलै सरी छोटो समयमा धेरै स्थानमा फैलिन सक्ने प्रकृतिको भएकोले यस रोगको शीघ्र पहिचान तथा नियन्त्रण गर्न आवश्यक छ ।

हाल नेपालका अधिकांश जिल्लामा यो रोग देखा परेको सन्दर्भमा फिल्डस्तरमा कार्यरत प्राविधिकहरूले सङ्क्रमित पशुहरुको उपचारको लागि निम्नानुसारको उपचार विधिको प्रयोग गर्न सकिने जानकारी गराईन्छ ।

रोग देखिएका पशुलाई गरिने उपचार विधिः
१. रोगी पशुलाई निरोगी पशुबाट छुट्टाई अलग्गै राख्ने
२. रोगी पशुलाई प्रशस्त मात्रामा पानी, कुँडो वा नरम घाँस, झोलिलो पदार्थ, सख्खर / गुँड पानी, इलोक्ट्रोलाइट खुवाउने

३. ज्वरो आएको पशुलाई आराम गराउने, जोत्ने, गाडा तान्ने काममा नलगाउने
४. रोगको लक्षणका आधारमा देहाय अनुसारको उपचार गर्ने
ज्वरो घटाउनका लागि
बजारमा उपलब्ध हुने पारासिटामोल 1500 mg र मेलोक्सिकेम 100 mg भएको बोलस वा इन्जेक्सन: ठूला पशुलाई: २ बोलस हरेक ८ घण्टाको फरकमा खुवाउने वा 1 ml/10 kg body weight अनुसार सुई लगाउने
पाडापाडी/बाच्छाबाच्छी: १ बोलस हरेक ८ घण्टाको फरकमा मुखबाट खुवाउने वा 1 ml/10 kg body weight अनुसार सुई लगाउने
८ घण्टाको फरकमा औंषधि दिँदा ज्वरो कम नभएमा ४ देखि ६ घण्टाको फरकमा पुनः प्रयोग गर्ने।
शरीरमा चिसो पानीमा भिजाइएको कपडा, बोरा प्रयोग गरी पानी पट्टी लगाउने ।

गाँठा गुठी/गिर्खा र चिलाउने कम गर्नका लागि
Chlorpheniramine maleate Pheniramine maleate:
ठूला पशुलाई: 10-15 ml २४ घण्टाको फरकमा सुई लगाउने
पाडापाडी/बाच्छाबाच्छी: 3-5 ml २४ घण्टाको फरकमा सुई लगाउने
दाना पानी खान नसकेका र अत्यन्तै कमजोर पशुमा २०% रिन्टोज / डेकस्ट्रोज सलाईन दिने
उच्च ज्वरो नभएको अवस्थामा Ivermectin 1% – 1ml/50kg bodyweight अनुसार १ पटक सुईबाट प्रयोग गर्ने
फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक र झिँगा नबस्ने (Fly Repellant ) मलहम वा स्प्रे प्रयोग गर्ने

भिटामिन ई र सेलेनियम मिसिएको बोलस खुवाउने वा सुई लगाउने

छाला, फोक्सो, पाचन प्रणाली, मुत्र प्रणालीमा सङ्क्रमण भएमा
गर्भिणी वा दुध दिने बाहेकका पशुमाः
Oxytetracycline plain 1 ml/ 5kg bodyweight दिनको २ पटक ३ देखि ५ सुई लगाउने वा Oxytetracycline Long Acting 1ml/ 10kg bodyweight ७२ घण्टाको फरकमा दुई पटक सुई लगाउने वा Tetracycline Bolus 500 mg:
ठूला पशुलाई:- २ बोलस दिनको २ पटक खुवाउने
पाडापाडी/बाच्छाबाच्छीः- १ बोलस दिनको २ पटक खुवाउने
गर्भिणी वा दूध दिने पशुमाः
Procaine Penicillin 1ml/ 20kg bodyweight दिनको २ पटक ३ देखि ५ दिनसम्म सुई लगाउने वा
Procaine Penicillin Long Acting 1ml/ 20kg bodyweight ४८ घण्टाको फरकमा दुई पटक सुई लगाउने
माथि उल्लेखित औषधि नपाए Amoxicillin तथा Ampicillin पनि प्रयोग गर्न सकिने

सङ्क्रमण रोकथामका उपायः

१. सङ्क्रमित क्षेत्र भन्दा बाहिरका स्वस्थ ३ महिनाभन्दा बढी उमेर समूहका पशुलाई उत्पादकले तोकेको मात्रामा लम्पी स्किन विरूद्ध वर्षेनि खोप लगाउने
२. गर्भिणी सङ्क्रमित पशुबाट जन्मेका बाच्छबाच्छी / पाडापाडीलाई ४ महिनापछि खोप लगाउने
३. सङ्क्रमणबाट निको भएका पशुलाई १ वर्ष पछाडी मात्र खोप लगाउने
४. गोठमा झिँगा, लामखुट्टे, भुसुना लाग्न नदिन गोठ वरिपरि धुँवा लगाउने
५. गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामुहिक चरन / खर्क आहालमा नलैजाने
६. सङ्क्रमित क्षेत्रबाट पशुको ओसारपसार नगर्ने/नगराउने
७. सङ्क्रमित साँढे वा राँगो रोग निको नभएसम्म प्रजनन्‌को लागि प्रयोग नगर्ने/नगराउने
८. गोठखोर सफा राखी नियमित फिनेल पानी छर्किने
९. नयाँ पशु गोठमा भित्राउँदा बथानमा नमिसाई कम्तिमा २८ दिन अलग्गै राख्ने

१०. मरेका पशु र लसपस भएको सोत्तरलाई गहिरो खाडलमा पुर्ने

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको