Chauthoanga - Nepali News Media
बंगलाचुलीका विद्यालयहरुमा पनि ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

कमिरेचौरः  ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज दाङ सहित  देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन दिवस मनाउने गरिन्छ ।

यता दाङको बंगलाचुलीको विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । वडा नम्बर ३ मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा स्तरिय विभिन्न शिर्षकमा निबन्ध प्रतियोगिता गरी दिवस मनाइएको विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बुढाले जानकारी दिनुभयो ।

जस अन्तर्गत कक्षा १ देखि ३ सम्म मेरो परिवार शिर्षकमा निबन्ध प्रतियोगिता भएको थियो ।यस्तै कक्षा ४ र ५ को मेरो छिमेकि शिर्षकमा, ७ देखि ८ सम्म हाम्रो विद्यालय र ९ देखि १२ कक्षा सम्म मानव जिवनमा शिक्षाको महत्व शिर्षकमा निबन्ध प्रतियोगिता सम्पन्न भएको थियो । जसअन्तरगत कक्षा २ मा निशान्त खड्का र कक्षा ३ मा सिता तिवारी प्रथम भएका छन । यस्तै कक्षा ४ मा रबिना विश्वकर्मा, ५ मा बिजय विश्वकर्मा, ६ मा विवेक महरा, ७ मा निरज थापा, ८ मा सरोज विश्वकर्मा, ९ ए मा विपना घर्ति, ९ बि मा यमुना थापा, १० मा नारायण तिवारी, ११ मा कमल रोका र कक्षा १२ मा रमेश भण्डारी प्रथम भएको प्रधानाध्यापक बुढाले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण शिक्षक जिवस मण्डलले गर्नुभएको थियो ।

यस्तै सुधा माध्यामिक विद्यालय झेलनेटामा कक्षा १ देखि ५ सम्म अनुच्छेद लेखन र कक्षा ६ देखि १२ सम्म शिक्षाको महत्व विषयमा खुला निबन्ध प्रतियोगिता आयोजना गरेर दिवस मनाइएको विद्यालयका शिक्षक सोम बहादुर वलीले जानकारी दिनुभयो ।

त्यस्तै माध्यामिक विद्यालय भेडाबारी मुलाबारीमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । दिवसको अवसरमा विद्यालयबाट र्यालि निकालिएको थियो । कोणसभामा परिणत भएको र्यालिमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले मन्तव्य राखेको विद्यालयका प्रधानाध्यापक खगराज लम्सालले जानकारी दिनुभयो ।यस्तै विद्यालयमा पनि ‍औपचारिक कार्यक्रम भएको थियो । विद्यालयका शिक्षक दिमानसिंह घर्तिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।विद्यालयमा अध्यनरत छात्रा बन्जिता पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शीक्षक प्रकाश खनालले जानकारी दिनुभयो । महेन्द्र माध्यामिक विद्यालय स्युजामा दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन लगायतका नारा लेखिएका प्लेकार्ड सहित र्यालिको आयोजना गरिएको विद्यालयका शिक्षक खिमानन्द कालाथोकिले जानकारी दिनुभयो ।

 

नेपालमा दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धननाराकासाथ दिवस मनाइँएको हो । सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो। त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ। कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने संयुक्त राष्ट्र सङ्घको विश्वव्यापी अभ्यास छ। सरकारले आर्थिक वर्ष २०८०/८१ भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव २ प्रतिशत छ। त्यस्तै १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको