Chauthoanga - Nepali News Media
समुदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न सरकारको आग्रह

काठमाडौँ - सरकारले सामाजिक सञ्जालका प्रयोगकर्ता तथा सञ्चालकहरूलाई कुनै जातजाति समुदाय बीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउन सबैमा आग्रह गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले वर्गीय, क्षेत्रीय, धार्मिक साम्प्रदायिक वा अन्य कुनै आधारमा घृणा, द्वेष फैलाउने वा अवहेलना गर्ने सामग्री नराख्न सबैमा आग्रह गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । 

यस्तै आजको मन्त्रिपरिषद् बैठकले महँगी र कालोबजारी नियन्त्रणका लागि थप सक्रिय हुन सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ । 

सरकारले नाफाखोरी तथा कालोबजारी सम्बन्धी कुनै सूचना भए सरकारी निकायलाई जानकारी गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको मन्त्री शर्माले बताउनुभयो । 

यस्तै मन्त्रिपरिषद् बैठकले विशेष अदालत सम्बन्धी नियमावली २०८० स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले निर्माण सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय व्यवस्थापन विधेयक २०८०लाई संघीय संसदमा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

संवत् २०८० साल असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
–विशेष अदालत नियमावली, २०८० स्वीकृत गर्ने ।
–निर्माणजन्य सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृति दिने । 
–सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृत दिने ।

विशेष प्रस्तावहरु:
१. विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय एकाइबिचको सुसम्बन्धमा प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनुहुन एवं विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउनुहुन सम्बन्धित सबैमा नेपाल सरकार हार्दिक अनुरोध गर्दछ । 

साथै सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्‍याउने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न नगराउन समेत नेपाल सरकार हार्दिक अपिल गर्दछ ।

२. आसन्न चाडपर्वहरूको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेजस्ता अनुचित कार्यहरू नगर्न नगराउन सम्पूर्ण उद्योगी, व्यवसायीहरूलाई नेपाल सरकार ध्यानाकर्षण गराउँदछ । 

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति, फर्मलाई कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भएमा हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिनुहुन आम उपभोक्ता वर्गमा अनुरोध गर्दछ । 

उपभोग्य वस्तुको विक्री वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रहरूलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने, अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वाभाविक रुपमा मूल्य वृद्धि गरी कालोबजारीमा संलग्न हुने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारी लागि सम्बन्धित निकायबाट दैनिक रुपमा सम्प्रेषित गर्न नेपाल सरकार निर्देशन गर्दछ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको