Chauthoanga - Nepali News Media
समाजमा अपराध नियन्त्रण गर्न सकारात्मक सोचको विकास गर्नुपर्छः प्रमुख जिल्ला अधिकारी सुवेदी

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा शान्ति सुरक्षा तथा लागुऔषध ओसारपसार एवं दुरुपयोग विरुद्धको अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज कमिरेचौरमा सम्पन्न भएको छ । जिल्ला सुरक्षा समिति दाङको आयोजना तथा बंगलाचुली गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बंगलाचुली गाउँपालिकाको वडाहरुमा रहेका विभिन्न टोल विकास संस्थाका अध्यक्ष, गाउँपालिका भित्र रहेका माध्यामिक, आधारभुत तथा प्राथमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र जनप्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदिले समाजमा हुने अपराधलाई नियन्त्रण गर्न समाजका हरेक नागरीकमा सकारात्मक सोच बिचारको विकास हुनुपर्ने बताउनुभएको थियो । उहाँले अहिले लागु पदार्थ ओसारपसार तथा दुर्व्यसनि अहिले प्रमुख समस्या रहेको बताउनुभएको थियो । यस्तै समाजमा शान्ति सुरक्षा स्थापना गर्न समाजका विभिन्न संघ संस्था टोल विकास संस्थाका अगुवा र विद्यालय तथा जनप्रतिनिधिहरुको प्रमुख भुमिका रहने उहाँले बताउनुभएको थियो ।साथै उहाँले लागु औषध सेवन गर्नु भनेको टाउकोमा राखेको तरवार जस्तै रहेको र जतिवेला पनि प्रहार हुन सक्ने उदाहरण दिनुभएको थियो । उहाँले दाङमा ५ र १० बर्षको अवधिमा भएका अपराधको तथ्याङ्क समेत प्रस्तुत गर्नुभएको थियो । तथ्याङ्क प्रस्तुत गर्दै वितेको ५ वर्षको अवधिमा जिल्लामा ३२३ वटा ठुला अपराधको घटना घटेको पनि जानकारी दिनुभयो । साथै उहाँले अपराध न्युनिकरण गर्ने प्रयास जारी रहेको जानकारी गराउनुभएको थियो । 

यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख राम बहादुर केसिले जिल्लाको समग्र शान्ति सुरक्षाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले समाजमा कुनै अपराधका घटना भएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयम खबर गर्न आग्रह गर्नुभएको थियो। यसो गर्दा केहि हदसम्म नियन्त्रण गर्न सकिने जानकारी दिदै बंगलाचुलीमा घरायसि झगडाको घट्ना अलि बढि हुने गरेको उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले बंगलाचुली गाउँपालिकामा उक्त कार्यक्रम आयोजना गरेकोमा जिल्ला सुरक्षा समितिलाई धन्यावाद दिनुभएको थियो । साथै उहाँले बंगलाचुली गाउँपालिका भित्र रहेका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न हरसम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो । साथै उहाँले बंगलाचुलीबाट सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिप्परहरुको कारणले जनतामा असुरक्षाको महसुस भएको भन्दै छुटै बैकल्पिक सडकको व्यवस्था गरेर सहज गराउने जानकारी दिनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकि, रणसिहंदल गण घोराहीका प्रमुख सेनानि केशब कार्की, शसत्र प्रहरीका डिएसपि, राष्ट्रय अनुसन्धान दाङका प्रमुख, बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा, ७ का अध्यक्ष गिर बहादुर थापा, ८ का अध्यक्ष झविन्द्र गाहा मगर लगायत गाउँ कार्यपालिकाका सदस्य , वडा सदस्य बंगलाचुली गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत निम बहादुर केसिले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको