Chauthoanga - Nepali News Media
राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि भोट नहाल्ने

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताउनुभयो । राप्रपा राष्ट्रपतिकाे निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरी मतदानमा सहभागी भएकाे थिएन ।

बैठकले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन, सुलभ ढङ्गले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ ।

हाल बैंकबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसानलगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर परिरहेकाले ब्याजदर तत्काल नियन्त्रण गर्न र देशमा वित्तीय सन्तुलन कायम राख्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधनका लागि सरकारसँग राप्रपा बैठकले माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको