Chauthoanga - Nepali News Media
नयाँ व्यवस्थाअनुसार आजदेखि नागरिकता  वितरण सुरु

काठमाडौः जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भएको छ । गएको बिहीवार सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्थाअनुसार नागरिकता दिन थालिएको हो ।केही जिल्लाले गत शुक्रवारदेखि नै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण थालेका र धेरै जिल्लाले आजदेखि सुरु गर्ने गृह मन्त्रालयले जनाएको छ । जन्मसिद्धका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने स्पष्ट व्यवस्था ऐनमा भएकाले नियमावली पर्खन नपर्ने गृह मन्त्रालयको भनाइ छ ।

लामो समयदेखि विवादमा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनको बाटो खुला भएको हो । नयाँ कानुनले जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुला गरेको छ । २०४६ चैतसम्म नेपालभित्र जन्मिएका व्यक्तिले २०६४ को संविधानसभा चुनावअघि निवेदन दिएका आधारमा नेपालको जन्मसिद्ध नागरिकता पाएका थिए । तर, त्यतिबेला तिनका सन्तानको विषयमा कुनै व्यवस्था गरिएको थिएन, यो ऐनले जन्मसिद्धका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ । ऐनमा २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भनिएको छ ।

नागरिकता ऐनमा गरिएको नयाँ व्यवस्थाअनुसार करिब ५ लाखले नागरिकता लिने अनुमान छ । नयाँ ऐनले आमाका नामबाट पनि नागरिकता प्राप्त गर्ने बाटो खुकुलो गरेको छ तर त्यसका लागि बाबुका विषयमा आमाले स्वघोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था पनि राखेको छ ।

यो कानुनअनुसार नेपालको नागरिक आमाबाट नेपालमा नै जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको बाबुको पहिचान हुन नसकेको बेहोराको निज र निजको आमाले तोकिएबमोजिमको स्वघोषणा गर्नुपर्नेछ । यसरी आमाका नामबाट नागरिकता प्रदान गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्थाको विरोध भैरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको