Chauthoanga - Nepali News Media
लुम्बिनीमा २ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य छ : मन्त्री मास्की

दाङ- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले लुम्बिनीमा दुई लाख रोजगारी सिर्जना गर्ने तयारी रहेको बताउनु भएको छ । सोमबार राप्ती गाउँपालिकाको आयोजनामा भएको सात दिने सरसफाई सम्बन्धि सामग्री उत्पादन गर्ने तालिमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मास्कीले आगामी दुई बर्षमा दुई लाख जनालाई रोजगारी दिने तयारी रहेको बताउनुभयो ।“हामीले प्रदेशका १२ वटै जिल्लामा दुई लाख रोजगारी सिर्जना गर्ने गरि उद्यमसिलतालाई जोड दिएका छौं, आगामी बर्षको बजेटमा त्यसलाई जोड दिएका छौं”,उहाँले भन्नुभयो“आगामी दुई बर्ष भित्र हामीले सोही अनुसार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएका छौं ।” स्वदेशमै रोजगारी सिर्जना गर्न सकेमा विदेश जानेहरुको संख्यामा पनि कमी आउने र नेपालमा आर्थिक सुधार हुने उहाँले बताउनुभयो । 

युवाहरुलाई तालिम प्रदान गरि ब्यबसायमै जोड्ने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।“हामीले युवाहरुलाई सीप दिएर स्वरोजगार बनाउने उद्देश्यले यस्तो खालको कार्यक्रम गर्दै आएका छौं”,उहाँले भन्नुभयो“चार बर्ष भित्रमा दुईहजारलाई पालिका भित्र स्वरोजगार बनाउने लक्ष्य लिएका छौं ।”

युवालाई उद्यमशिलतामा जोड्न बैंकबाट सहुलियतदरमा कर्जा उपलब्ध गराउने गरी ग्लोबल आईएमी बैंक भालुवाङ शाखासंग सम्झौता भएको समेत बताउनभुयो । ग्लोबल आईएमी बैंक भालुवाङ शाखाले उद्यमशिल गर्न चाहने जो कोही युवाहरु योजना बनाएर आएको खण्डमा बिनो धितो सहुलियत दरमा कर्जा उपलब्ध गराउने बताएको छ । उद्यमशिल गर्न चाहने व्यक्तिले व्यवसायिक परियोजना बनाएर आएको खण्डमा परियोजना नै धितो राखेर एकदमै सस्तो ब्याजदरमा बढीमा ६५ लाख सम्म लगानी गर्न तयार रहेको बताएको छ । तालिममा लागि कुल ४ सय २ जना युवाहरुले आवेदन दिएकोमा पहिलो चरणमा २५ देखि ४५ वर्ष उमेर समुहका ८७ जना युवाहरुलाई तालिम प्रदान गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको