Chauthoanga - Nepali News Media
ब्याजदरमा वाणिज्य बैंकहरुको 'भद्र सहमति' तोडियो

काठमाडौँ — वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा गर्दै आएको 'भद्र सहमति' तोडेका छन् । नेपाल बैंकर्स संघको आज बुधबार बसेको बैठकले भद्र सहमति तोडेर बैंकले आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति गरेको हो ।

‘तरलताको अवस्था सहज भएकाले अब साउनदेखि लागू हुनेगरी बैंकहरुले आफैले निक्षेपको ब्याजदर तोक्ने सहमति भएको छ’ नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिनुभयो । 

हाल बैंकहरुमा नगद थुप्रिएपछि ब्याजदरमा भद्र सहमति जरुरत नरहेको ठहर गर्दै संघको बैठकले स्वतन्त्र छाडेको हो । हालसम्म वाणिज्य बैंकहरुले संघमार्फत निक्षेपको ब्याजदर निर्धारण गर्दै आएकाले अधिकांश बैंकको ब्याजदर उस्तै छ । वाणिज्य बैंकहरुले हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् ।

धेरै बैंकले यहीं दर कायम गरेका छन् । अब बैंकहरुले साउन महिनाका लागि योभन्दा बढी वा कम ब्याजदर तोक्न सक्ने छन् । यसअघि अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक कार्यक्रममै ब‌ैंकहरुबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउँदै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको