Chauthoanga - Nepali News Media
आर्थिक वर्ष २०८०/८१ शुरु : केही करका दर आजदेखि कार्यान्वयनमा

काठमाण्डाै - आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक–२०८० प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिबाट  यी  विधेयक प्रमाणीकरणपछि आजदेखि  नयाँ  आर्थिक  वर्षको  बजेटबाट खर्च गर्न बाटो  खुलेको छ ।

संवैधानिक व्यवस्था अनुसार सरकारले गएको जेठ १५ गते बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएकोमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

खर्च बेहोर्ने स्रोतमध्ये १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट, दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट, दुई खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणबाट र ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदानबाट प्राप्त हुने अनुमान छ । सरकारले बजेटसँगै खर्चको स्रोत बेहोर्न नयाँ करका दरसमेत सार्वजनिक गर्छ ।

आर्थिक ऐनमार्फत् सरकारले नयाँ करका दर लागू गर्छ । कतिपय करका दर बजेट घोषणा भएकै दिनदेखि लागू भएका छन् भने कतिपय करका दर आर्थिक वर्ष शुरु भएको दिन आजदेखि कार्यान्वयनमा आउँछन्।

सरकारले पाँचतारे र त्योभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, १० लाख रुपैयाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा दुई प्रतिशतका दरले विलासिता शुल्क लागू गरेको छ ।

त्यस्तै, विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि लागू हुँदैछ । त्यस्तै आजदेखि हवाई टिकटमा मूल्य अभिवृद्धि कर लागू हुँदैछ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको