Chauthoanga - Nepali News Media
दाङमा १६८ ले लिए वंशजको नागरिकता

दाङ- मोहम्मद आरिफ अन्सारीको जन्म दाङ तुलसीपुरमा भयो । तुलसीपुरमै हुर्किनुभयो, त्यहीं बढ्नु भयो । पढाइ लेखाइ पनि तुलसीपुरमै चल्यो । उहाँको विवाह सल्यानबाट भयो । उहाँका बुवाहरु वि.सं. २०३२ सालतिर कोइलावासमा बसाइ थाल्नु भएको थियो । मोहम्मदले २०६३ सालमा जन्मको आधारमा नागरिकता लिनुभयो । अहिले उहाँकी छोरी साहिवा मन्सुरी १६ वर्ष पुग्नुभयो । जसले हालसालै इलाका प्रशासन कार्यालय तुलसीपुरबाट वंशजको नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।

‘म जन्मिएको यही माटोमा हो, यहीं हुर्किएँ, यहीं ठूलो भएँ’– मोहम्मदले भन्नुभयो– ‘२०६३ सालमा जन्मको आधारमा मेरो नागरिकता बन्यो । अहिले छोरीको उमेर पनि पुग्यो । नियम पनि आयो । छोरीले वंशजको नागरिकता बनाएकी छन् । हामी धेरै खुशी छौं ।’ एसइई परीक्षामा राम्रो ग्रेड लिएर उत्तीर्ण भएकी छोरीलाई माथिल्लो कक्षाको पढाइका लागि सजिलो हुने आरिफले बताउनुभयो । नेपालको नागरिकता पहिलो संसोधन ऐन २०७९ को कार्यान्वयन गर्दै जन्मका आधारमा नागरिकता लिएका व्यक्तिहरुका सन्तानलाई वंशजको नेपाली नागरिकता प्रदान गरिएको छ । मन्सुरीसहित दाङ जिल्लामा एक सय ६८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । सबैभन्दा बढी नागरिकता इलाका प्रशासन कार्यालय लमहीले वितरण गरेको छ ।

इलाका प्रशासन कार्यालय लमहीले ६८ वटा नागरिकता वितरण गरेको छ भने इलाका प्रशासन कार्यालय तुलसीपुरले ५३ र जिल्ला प्रशासन कार्यालय घोराहीबाट ४७ जनाले वंशजको नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले असार ८ गते सूचना जारी गर्दै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न ११ प्रकारको प्रमाणहरु पेश गर्न अनुरोध गरेको थियो । जसअन्तर्गत असार १० गते बाट जिल्लामा नागरिकता वितरणको काम शुरु भएको थियो । इलाका प्रशासन कार्यालय लमहीले असार ११ गतेदेखि हालसम्म ६८ वटा वंशजको नागरिकता वितरण गरेको जनाएको छ । निमित्त कार्यालय प्रमुख ईश्वरी भारतीका अनुसार जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गरेको बताउनुभयो । ‘शुरु शुरुमा निकै भीड लाग्यो । कति बुझ्नको लागि आउनुभयो । पछि कागजपत्र पुगेकाहरुलाई वंशजको नागरिकता वितरण ग¥यौं’– उहाँले भन्नुभयो– ‘आजभोलि चाप कम छ ।’

इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ५३ जनाले वंशजको आधारमा नागरिकता प्राप्त गरेको कार्यालय प्रमुख यज्ञ बुढाले जानकारी दिनुभयो । ‘नयाँ नियम लागु भएपछि प्रक्रिया पूरा गरेर नागरिकता दिइएको छ । बुवाले जन्मको आधारमा नागरिकता बनाइसकेको तर आफ्ना छोराछोरीलाई नागरिकता बनाइदिन नसकेको खण्डमा अहिलेको नियमले सम्बोधन गरेपछि नागरिकताको प्रमाणपत्र जारी गरेका छौं’– कार्यालय प्रमुख बुढाले भन्नुभयो– ‘कार्यालयमा नागरिकता बनाउन आउनेको संख्या फाट्ट फुट्ट छ ।’ जिल्ला प्रशासन कार्यालय दाङबाट शुक्रबारसम्म ४७ जनाले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । अधिकृत दलबहादुर बस्नेतका अनुसार बुवाले जन्मको आधारमा नागरिकता लिएको, आमाको वैवाहिक अंगिकृत अथवा जन्मको आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालयले वंशजको नागरिकता प्राप्तिका लागि बुवा र आमाको सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, सक्कल जन्मदर्ताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपूर्जा जसमा सन्तानको आमा÷बुवा वा एकाघर सगोलका व्यक्तिको नाममा भएको जग्गाको हुनुपर्ने उल्लेख गरेको छ ।

यस्तै शैक्षिक प्रमाणपत्र, स्थानीय तहले नेपालमै जन्म भई निरन्तर नेपालमा बसोवास गरेको भनी गरिदिएको सिफारिस, पारिवारिक विवरण, बुवा र आमाबीचको विवाह दर्ता प्रमाणपत्र, बाबु, आमामध्ये कोही वा दुबैको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्र, अन्य तोकिएको कागजात, स्थायी, लेखा नम्बर, व्यवसाय दर्ता प्रमाणपत्र, २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा, आवश्यकता अनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्का समेत गरिने हुँदा सो व्यहोरालाई पुष्टि गर्ने अन्य कागजातहरु पेश गर्न अनुरोध गरिएको थियो । नागरिकता ऐन २०६३ को दफा ३ मा उपदफा ४ थपे अनुसार ‘संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’

यस्तै त्यसमा भनिएको छ– ‘संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’ नेपालमा विसं २०४६ सालअघि स्थायी बसोबास गरिरहेका मानिसहरूलाई २०६३ सालपछि जन्मसिद्धका आधारमा नेपाली नागरिकता दिइएको थियो । गृह मन्त्रालयको अभिलेखअनुसार २०७२ साल असोज ३ गते नयाँ संविधान जारी हुनुअघि एक लाख ९० हजार जनाले जन्मसिद्ध नागरिकता लिएका थिए । नयाँ संविधानले उनीहरूका सन्तानलाई संघीय कानुनअनुसार वंशजको नेपाली नागरिकता दिने व्यवस्था गरे पनि कानुन बन्न ढिलाइ भएका कारण उनीहरू नागरिकता पाउनबाट बञ्चित भएका थिए । नयाँ संविधान बनेपछि २०७५ सालमा गृह मन्त्रालयले गरेको परिपत्रबाट केही जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता लिए पनि सर्वोच्च अदालतले त्यसलाई रोक्न आदेश दिदै कानुन बनाएर मात्रै नागरिकता दिन भनेको थियो । नयाँ युगबोधदैनिक बाट

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको