Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा प्राकृतिक विपतको तुलनामा आत्महत्यालगायतका अन्य विपतका घटना धेरै

दाङः लुम्बिनी प्रदेशमा प्राकृतिक विपत्को तुलनामा आत्महत्यालगायतका अन्य विपत्का घटनामा परेर ज्यान गुमाउनेको संख्या झण्डै ६ गुणाले बढी भएको देखिएको छ । सरकारले एक वर्षमा प्राकृतिक विपतमा परेकाहरुलाई लक्षित गरेर आठ करोड २९ लाख ३६ हजार तीन सय रुपैयाँ राहत वितरण गरेको छ तर अन्य विपत्का घटनाको बारेमा सचेतना अभिबृद्धि र मानवीय सहायतामा रकम खर्च गरेको देखिएको छैन । आर्थिक वर्ष २०७९÷०८० मा प्राकृतिक विपत्का घटनामा परेर दुई सय ७६ जनाको मृत्यु हुँदा अन्य विपतमा परेर एक हजार पाँच सय ९९ जनाले ज्यान गुमाएको तथ्यांक प्रदेश गृहमन्त्रालयले सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा झुण्डिएर एक हजार दुईजनाले ज्यान गुमाएका छन् । विष सेवनबाट एक सय ४१ जनाको मृत्यु भएको छ ।

दुई सय ५५ जना मृत अवस्थामा भेटिएका, एक सय आठ जनाको वेवारिसे अवस्थामा शव फेला परेको छ । कुटपिटबाट १६ जनाको मृत्यु भएको छ भने धारिलो हतियार प्रहारबाट आठजनाको ज्यान गएको प्रदेश गृहमन्त्रालयले जनाएको छ ।

यस्तै आगो लगाई चारजनाको ज्यान गएको छ भने अन्य घटनामा परेर ६६ जनाको मृत्यु भएको छ । लुम्बिनीमा एक वर्षमा मात्रै चार हजार सात सय ८९ विपत्का घटना भएका छन् । जुन घटनामा परेर छ सय २४ जनाको मत्यु भएको छ भने छ हजार सात सय ४७ जना घाइते र १३ जना वेपत्ता भएको जनाइएको छ । सवारी दुर्घटनाका घटना तीन हजार छ सय ४४ वटा भएका छन् । जसमा परेर एक वर्षको अवधिमा तीन सय ४३ जनाको मृत्यु भएको छ । छ हजार चार सय ५२ जना घाइते भएका छन् ।

प्रदेशमा प्राकृतिक विपत्बाट भने एक वर्षमा दुई सय ७६ जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएका छन् । दुई सय १९ जना सख्त घाइते भएका छन् । प्रदेशको गृह मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९÷०८० मा एक हजार एक सय १८ वटा प्राकृतिक विपत्का घटना भएका थिए । सबैभन्दा धेरै एक सय ६६ जनाको पानीमा डुबेर मृत्यु भएको छ । आगो लागेर ३० र खोलाले बगाएर २५ जनाले ज्यान गुमाएका छन् । सर्पदंशले २१, पहिरोले १२, चट्याङ र जनावरको टोकाइबाट ११÷११ जनाको मृत्यु भएको हो । आगलागीमा परेर ३० जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको