Chauthoanga - Nepali News Media
दाङको भालुवाङ - प्युठान–सडकखण्ड पाँच दिनपछि खुल्यो

दाङ - दाङको भालुवाङ-प्युठान सडकखण्ड पाँच दिन पछि संचालनमा आएको छ । यस सडकखण्डको गर्जेनीमा खसेको पहिरो पाँचदिन पछी पन्छाई सकेपछि सडक संचालनमा आएको हो । गत बुधबार राति करिब १० बजे खसेको पहिरोले अवरुद्ध भएको सडक आइतबार साँझबाट खुलाइएको छ ।

सडकदेखि करिब ५० मिटर माथिबाट खसेको पहिरोले १५० मिटर सडक क्षेत्र ढाकेको थियो । सडकको माथि चट्टानी भिर र तलतिर ठूलो माडी नदी भएकाले पैदल हिँड्न पनि यात्रुलाई सकस भएको थियो । दाङको भालुवाङ–प्युठान सडकखण्ड फराकिलो बनाउने क्रममा भित्ता काट्दा जमिन थर्किएर कमजोर बनेको र ठूलो पहिरो खसेको अनुमान छ ।

सडक विस्तारको बेला ठूला मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर जमिन थप कमजोर हुने भएकाले पहिरो झर्ने गरेको छ । गर्जेनीमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा भालुवाङ–प्युठान र रोल्पा आउ–जाउ गर्ने यात्रुहरुले देवीस्थान–घोराही सडक (४८ किलोमिटर) प्रयोग गर्न बाध्य भएका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको