Chauthoanga - Nepali News Media
शिक्षक आन्दोलन : कतै सडक खाली, कतै सडक जाम (तस्बिरहरू)

काठमाडौँ - प्रस्तावित शिक्षा विधेयकको विरुद्ध देशैभरका शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेका कारण काठमाडौँको मुख्य सडकहरू अस्तव्यस्त भएको छ ।

शिक्षकहरूले आज दोस्रो दिन पनि माइतीघर– बानेश्वरको मूल सडक ढाकेर आन्दोलन गरिरहेका छन् । शिक्षकहरूले हिजोदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका लागि देशभरिबाट शिक्षकहरू काठमाडौँ आएका छन् ।

आन्दोलनका कारण ट्राफिक प्रहरीले माइतीघर र बानेश्वर भएर सवारी चलाउने यातायातलाई डाइभर्सन गरेका कारण मूल सडकबाहेक सहायक सडकहरूमा समेत सवारी जाम बढेको छ । जामका कारण छिनमै पुग्ने ठाउँ पुग्न पनि घण्टौँ पर्खनुपर्ने अवस्था छ ।

शिक्षकहरूको मागलाई सम्बोधन गर्न आजै बिहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग वार्ता गरे पनि कुनै ठोस निष्कर्ष निस्केन । महासङ्घले सरकारले विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने घोषणा गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको