Chauthoanga - Nepali News Media
बंगलाचुलीका एक नव विवाहित दम्पतिद्वारा वैवाहिक दिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

दाङ –  बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिका सदस्य गणेश विश्वकर्माले आफ्नो विवाहको अवसरमा अक्षयकोष स्थापना गर्नुभएको छ । बंगलाचुली गाउँपालिका वडा नं १ स्युजा निवासी गणेश विश्वकर्मा र पवित्र राईले विवाहको उपलक्ष्यमा आफ्नो वडामा रहेको  महेन्द्र माध्यमिक विद्यालय स्युजामा रु ५० हजार राशिको अक्षय कोष स्थापना गर्नुभएको हो।
आफूले एस. एल.सी उत्तिर्ण गरेको स्थानीय विद्यालयको बार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक एक जना छात्र ,छात्रालाई प्रत्येक वर्ष जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने गरी पढाइमा थप प्रेरणा तथा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ आफूहरुले अक्षय कोषको स्थापना गरेको नव विवाहित जोडीले बताउनुभयो । समाजमा सुधार र परिवर्तनको सुरुवात आफैबाट गर्ने भन्दै उहाँहरूले विवाहमा हुने खर्च कटौती गरेर गणेश पवित्रा वैवाहिक अक्षयकोष खडा स्थापना गरिएको जानकारी दिनुभयो । 
 अन्तर्जातीय विवाह गर्नुभएका उहाँहरुले दाङ जिल्ला अदालतबाट अदालती बिबाह गर्नुभएको छ । उहाँहरूले दुवैजनाको परिवारकै सहमतिमा अन्तरजातीय विवाह गरेको बताउनुभयो । कुनैपनि प्रकारको परम्परागत धार्मिक रितिथिति भन्दा पर रही परम्परादेखि गरिँदै आएको विवाहमा गरिने खर्चलाई सामाजिक कार्यमा लगानी गर्दै वैवाहिक सम्बन्धलाई गौरवपूर्ण इतिहासको रुपमा विकास गर्न अदालतिय विवाह गरेको उहाँहरुको भनाई छ ।
कुनैपनि प्रकारको परम्परागत धार्मिक रितिथीती भन्दा प्रगतिशील संस्कारलाई अवलम्बन गरेर जाने भन्दै समाजलाई पनि त्यसमा केन्द्रित गर्दै समाजमा नयाँ सन्देश दिने विश्वकर्माको भनाई छ । विश्वकर्मा विभिन्न सामाजिक अभियानमा लाग्नुका साथै हाल दलित अधिकारकर्मी , नेपाली कांग्रेसबाट सक्रिय राजनीति समेत गर्दै आउनुभएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको