Chauthoanga - Nepali News Media
प्रधानमन्त्री प्रचण्ड ल्हासामा

ल्हासा -चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार छोङ्छिङ्बाट ल्हासा पुग्नु भएको छ ।

सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण हुनुभएको हो । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकी सहित भव्य स्वागत गरिएको छ ।

कार्यक्रमको सुची अनुसार आज साँझ प्रम प्रचण्डसङ चीनिया कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गर्नुहुनेछ । सचिव वाङले प्रम प्रचण्डको सम्मानमा आज साँज रात्रिभोजको आयोजना गर्नुहुने छ ।

चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम प्रचण्डले ल्हासाको भ्रमण गर्नुभएको हो । तिब्बतमा रहदा प्रम प्रचण्डले कैलाश मानसरोवर (ताल ) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ ।

ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।उहाँका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छोङछिङ सहर आइपुग्नुभएको थियो । त्यहाँ उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको