Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा  जग्गा किनबेच फुकुवा, कित्ताकाट नहुने

दाङ- लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुनेगरी आजबाट किनबेचको लागि फुकुवा भएको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को कार्तिक १ गते बसेको बैठकले कित्ताकाट नहुनेगरी जग्गा किनवेचको लागि फुकुवा गरेको निर्णय आजबाट कार्यान्वयनमा आएको हो ।

सो निर्णयका आधारमा आज (बिहीबार)बाट किनबेचका लागि जग्गा फुकुवा भएको मालपोत कार्यालय लमहीले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् लुम्बिनी प्रदेशको कार्यालयको निर्णय र पत्रको आधारमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३, अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ को जग्गा फुकुवा गरिएको हो ।

एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ता काट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको कुनै प्रकारको स्वरुप परिर्वतन गर्न नपाउने गरी फुकुवा भएको मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कवरले जानकारी दिनु भएको छ ।

प्रदेश राजधानी घोषणा हुनु अघि २०७७ साल असोज १६ गते जग्गा रोक्का राख्ने निर्णय गरिएको थियो । लामो समय जग्गा रोक्का हुँदा यहाँको जनजीवन प्रभावित भएको थियो । कारोबार र लगानी ठप्प हुँदा आर्थिक कारोबारसमेत सुस्ताएको थियो ।

सामाजिक तथा सांस्कृतिक कार्यहरुसमेत प्रभावित भएको भन्दै आन्दोलन समेत भएको थियो ।

सरकारले विभिन्न समयमा समिति गठन गरेर प्रतिबेदन बनाउने र जग्गा फुकुवाको लागि आधार तय गरेको थियो । जसको आधारमा प्रदेश सरकारले गरेको निर्णय डेढ महिनापछि कार्यान्वयनमा आएको हो ।।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको