Chauthoanga - Nepali News Media
हिउँदे वर्षा औसतभन्दा बढी हुने

काठमाडौँ-  यस हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो । 

विभागको जलवायु विश्लेषण शाखाले जनाए अनुसार मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने सरदर वर्षा ६०.१ मिलिमिटरलाई औसत वर्षा मानिएको छ । यो वर्ष त्यो मापदण्डभन्दा बढी वर्षा हुने शाखाका जलवायु विश्लेषक सुदर्शन हुमागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “कोशीको तराई र मधेश प्रदेशका क्षेत्रमा वर्षा कम हुने र बागमतीदेखि पश्चिमी भेगका अधिकांश भू–भागमा औसतभन्दा बढी वर्षा हुने विश्लेषणमा देखिएको हो ।”

तापक्रमको उतारचढाव पनि सोही अनुसार पूर्व र मधेशतिर कम चिसो हुने र मध्यदेखि पश्चिमतिर बढी चिसो हुने महाशाखाले जनाएको छ । हुमागाईंका अनुसार सुदूरपश्चिमको कर्णाली, गण्डकी तथा उच्च हिमाली भेगमा अधिकतम र न्यूनतम तापक्रम कम हुने छ । अन्यत्र सरदर हिउँदको समयमा हुनेभन्दा बढी तातो हुने छ । 

विभागले यस वर्षको आकलन विश्व मौसम सङ्गठन तथा दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा तय गरेको जनाएको छ । त्यस्तै हिउँदे अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने अलनिनो र दक्षिण ओसिलिएसनसँगै हिन्द महासागरमा विकसित हुने दुई धु्रवीय प्रणालीको विश्लेषणले पनि यो वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने आधार दिएको छ । यतिबेला प्रशान्त महासागरमा अलनिनो प्रणाली अवस्थित रहेको र त्यो हिउँद अवधिभर कायम रहने भएकाले पनि त्यसले वर्षाको प्रणाली विकास गर्न सघाउने विभागले जनाएको छ । 

हिन्द महासागरमा विकसित हुने दुई धु्रवीय सामुद्रिक तापक्रम सूचक अहिले धनात्मक रहेकाले पनि नेपालमा यस वर्षका हिउँदमा बदली र वर्षाको अवस्था गत वर्षको तुलनामा बढी हुने भएको हो । तथापि प्रणालीगत ऋतु परिवर्तनका प्रवृत्तिको अनुमान गर्न कठिनाइ रहेकाले थोरै तलमाथि हुन सक्ने विभागले प्रस्ट पारेको छ । गत वर्षको आकलनले हिउँदमा वर्षा कम हुन्छ भने पनि मध्य तथा पश्चिम क्षेत्रमा बढी वर्षा भएको थियो । कोशी, मधेश र बागमती प्रदेशमा मात्र कम भएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको