Chauthoanga - Nepali News Media
ईपीएसको ‘सिप बिल्डिङ्’मा निवेदन दिएका सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन अदालतको आदेश

काठमाण्डौ – उच्च अदालत पाटनले ईपीएस परीक्षा अन्तर्गत ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई अर्को क्षेत्रको आवेदन फर्म भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।

आदेशमा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई २०८० साल मंसिर १९ को सूचना बमोजिम मिति २०८० साल पुष २ गतेदेखि खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरेको छ ।

अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले परीक्षा दिन पाउनेछन् । यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो । त्यसका विरुद्धमा १८ जनाले उच्च अदालत पाटनमै मुद्दा हालेका थिए ।

अदालतले उनीहरूलाई आवेदन प्रक्रियामा सहभागी गराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशकै आधारमा १८ जनाले आज आवेदन फाराम भरेका थिए । अरुले भर्न नपाएपछि आन्दोलन भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको