Chauthoanga - Nepali News Media
मजदुरका छोराले छात्रवृत्ति कोटामा डाक्टर पढ्न पाए तर खानबस्न समस्या

काठमाडौँ- मजदुरका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर पढ्ने ? भन्ने पिर परेको छ । एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका कञ्चनपुरको भिमदत्त नगरपालिका–१०, जिमुवाका १७ वर्षीय ललित सार्की यति बेला खान बस्ने व्यवस्थाका लागि मनकारीसँग हारगुहार मागिरहनु भएको छ ।   

ललित सार्कीको नाम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा डाक्टर पढ्ने सूचिमा नाम आएको छ । अध्ययन गर्दासम्म खान बस्ने व्यवस्था मिलाई दिन ललित सार्की भिमत्तद नगरपालिका पुगे पनि उहाँ रित्तो हात फर्किनु भएको छ । नगरपालिकामा कार्यविधि नभएको भन्दै तत्काल सहयोग गर्न नसकिने बताएपछि घर फर्किएको ललित सार्कीले पीडा सुनाउनुभयो । 

पढाइमा अब्बल रहेका ललित सार्कीले सिद्धनाथ माध्यमिक विद्यालयबाट विसं.२०७८ सालमा एसइई पास गर्नु भएको हो ।  एसइईमा ३.८५ जिपिए ल्याएपछि ललितको विज्ञान पढ्ने धोको थियो तर, घरको आर्थिक अवस्था नाजुक थियो । मजदुरका छोराले सामुदायिक विद्यालयबाट राम्रो जिपिए ल्याएको थाहा पाएपछि  स्थानीय रेडियन्ट बोर्डिङ स्कुलले ललितलाई छात्रवृत्तिमा विज्ञान विषय पढ्ने मौका दियो । विसं.२०८० मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेपछि भर्खरै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरले पूर्ण छात्रवृत्तिका लागि सूचना जारी गर्दा ललित सार्कीले खुलाबाट १२६८ नम्बरमा नाम निकाल्नु भएको छ । 

पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउने भए पनि गाँसबासका लागि समस्या परेको ललितले बताउनुभयो । उहाँले नगरपालिकाले कक्षा १२ सम्म सरकारी विद्यालय पढेकालाई मात्र सहयोग गर्ने कार्यविधि रहेको बताएपछि सहयोग पाउन नसकेको बताउनुभयो । कार्यविधि परिवर्तन गरेर अर्को वर्ष सहयोग दिने आश्वासन मिलेको उहाँले बताउनुभयो । 

गरिबीका कारण पहाडी जिल्ला डडेलधुराको रुपालबाट तराई झरेको ललितको परिवार सामान्य कच्ची घरमा बसेर ज्याला मजदुरी गरेर छाक टार्दै आएको छ । ललितका आमा बुवा अर्काको खेतबारीमा काम गर्नुहुन्छ । बुवा आमाको मेहनतले खान लगाउन नपुगेपछि ललितका दाइ भारतमा ज्याला मजदुरी गर्न जानु भएको छ । 

गरिबी र अभाव झेल्दै विज्ञान विषय पढेर अहिले छात्रवृत्तिमा डाक्टर पढ्ने अवसर पाएकोमा ललितले असाध्यै सुखी लागेको बताउनुभयो । खाना र बासको व्यवस्था गरिदिने मनकारी भेटिनेमा ललितले आसा व्यक्त गर्नुभयो । केही मनकारीले सहयोग गर्ने वचन दिएका कारण डाक्टर पढ्ने धोको पूरा हुने उहाँले बताउनुभयो । 

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले नगरपालिकाको कार्यविधि परिवर्तन गरेर भए पनि ललित सार्की जस्ता प्रतिभावान् विद्यार्थीलाई सहयोग गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,“ कार्यविधिका कारण अहिले नै सहयोग गर्न त सक्दैनौँ । अस्तिको नगर सभाबाट कार्यविधि परिवर्तन गर्न बिर्सियौँ । अब अर्को नगर सभाबाट कक्षा १२ सम्म निजी विद्यालय पढेका गरिब तथा तथा जेहेन्दार विद्यार्थीलाई डाक्टर, इन्जिनियर र पाइलट पढाउने सहयोग गर्नेछौँ ।” 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको