Chauthoanga - Nepali News Media
स्थानीय रेडियोहरूबीच सहकार्यको उद्देश्यसहित 'स्वतन्त्र रेडियो कोलिसन' गठन

काठमाडौँ- विश्व रेडियो दिवसको अवसर पारेर स्थानीय रेडियोहरूको हकहीतमा काम गर्ने उद्देश्यसहित नयाँ संस्था गठन भएको छ । १५ स्थानीय रेडियोहरूको सहकार्यमा मङ्गलबार गठित 'स्वतन्त्र रेडियो सहकार्य नेपाल' ले स्थानीय रेडियोहरूबीच स्रोतसाधन, बजार र कार्यक्रममा समेत सहकार्य गर्ने उद्देश्य राखेको छ ।

संस्था गठनपछि जारी घोषणापत्रमा आर्थिक स्रोत, रेडियो सामग्री, बजार र उत्पादन बाँडफाँटमा साझा रुपमा काम गर्ने उद्देश्य राखिएको छ । 

नेपाल एफएम (काठमाडौं), तिलोत्तमा एफएम (रुपन्देही), रेडियो कैलाली (कैलाली), रेडियो मन्त्र (झापा), स्काई एमएम (विराटनगर), मिक्स एफएम (नुवाकोट), झङ्कार एफएम (रामेछाप), कर्णाली आवाज (हुम्ला), रेडियो तीनजुरे (तेह्रथुम), रेडियो परिवर्तन (बाग्लुङ्ग), दुधौली एफएम (सिन्धुली), शुक्लगण्डकी एफएम (तनहुँ), धड्कन एफएम (सर्लाही), रेडियो मलङ्गजा (सर्लाही) र अपन एफएम (सप्तहरी) का प्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

नवगठित संस्थाका संयोजक गोविन्द खड्काले स्वतन्त्र रेडियो बचाउन नयाँ अभियान थालनी भएको जानकारी दिनुभयो । विश्व रेडियो दिवसको पूर्वसन्ध्यामा सोमबार र मङ्गलबार भएका छलफलहरूपछि स्वतन्त्र रेडियो बचाउनका लागि सहकार्यात्मक संगठन बनाउने निष्कर्षमा पुगेको खड्काले जानकारी दिनुभयो ।  

सहमतिपछि जारी घोषणापत्रमा रेडियोका छाता संगठकहरू बाटो हराएका यात्रीजस्ता भएका र  उनीहरूले स्थानीय रेडियो बचाउन नीतिगत र व्यवस्थापकीय दुबै काममा नेतृत्वदायी भूमिका खेल्न नसकेको बताईएको छ । हाल निजी स्थानीय रेडियोको छाता संस्थाका रुपमा ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल र सामुदायिक रेडियोको छाता संस्थाका रुपमा सामुदायिक रेडियो प्रसारक संघ रहेका छन् भने काठमाडौं उपत्यकामा अर्को संस्था काठमाडौं उपत्यका रेडियो प्रसारक मञ्च नामको अलगै संस्था पनि अस्तित्वमा छ । 

"रेडियोका छाता संगठकहरू बाटो हराएका यात्रीजस्ता छन् जसले स्थानीय रेडियो बचाउन नीतिगत र व्यवस्थापकीय दुबै काममा नेतृत्वदायि भुमिका खेल्न सकेका छैनन्", घोषणापत्रमा भनिएको छ, "रेडियोलाई बचाउन सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्था, छाता संगठन, सञ्जाल तथा विज्ञापन एजेन्सीहरूले स्रोत बाडफाँडमा गरेको पहल अनुसार स्थानीय रेडियोहरुमा न आर्थिक स्रोत पुगेको छ न त सहयोग नै पाइरहेका छन् ।"

न्यूनतम आर्थिक श्रोत जुटाउन पनि चुनौती भोगिरहेका स्थानीय रेडियोले जनशक्ति उत्पादन गर्न र टिकाउन नसकेको घोषणापत्रमा उल्लेख छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागको तथ्यांक अनुसार देशभर ९३१ रेडियोले इजाजत पाएका छन् । यद्यपि इजाजत लिएका सबै रेडियो सञ्चालनमा भने छैनन् । करिब ७ सय सञ्चालित रेडियोहरूमध्ये पनि हाल एक सय हाराहारी रेडियो बन्द छन् । 

"यही पृष्ठभूमिलाई ध्यानमा राखेर स्वतन्त्र रेडियो बचाऊ अभियानले विश्व रेडियो दिवस २०२४ को अवसर पारेर आर्थिक स्रोत, रेडियो सामग्री, बजार र उत्पादन (समाचार, कार्यक्रम र गतिविधि) बाँडफाँडमा साझा रुपमा काम गर्ने उद्देश्य सहित स्वतन्त्र रेडियो सहकार्य (Coalition of Independent Radio CIR) नेपाल गठन गरि कार्य गर्न हामी रेडियोहरु प्रतिवद्ध छौँ", घोषणापत्रमा भनिएको छ । 

 स्वतन्त्र रेडियो सहकार्य नेपालका संयोजक खड्काले १६१ रेडियोले संस्थासँग आबद्धताका लागि सहमति दिएको जानकारी दिनुभयो  । "अरु पनि रेडियोहरू अभियानमा जोडिँदै जानुहुन्छ", उहाँ भन्नुभयो । 

संस्थाले मङ्गलबार जारी घोषणापत्रमा आफ्ना पाँच उद्देश्यहरू यसरी राखेको छः 

१. वर्तमान अवस्थामा रेडियोमा देखिएको संकट समाधानका लागि स्वतन्त्र रेडियो सहकार्य (सीआरआई) नेपाल को नाममा रेडियो बचाऊ अभियान सञ्चालन गर्न । 
२. CIR Nepal मा रेडियोहरू एउटै रेडियो अवधारणमा सामुहिक रुपमा काम गर्ने र CIR Nepal मार्फत उत्पादन तथा प्रसारण हुने सामग्री (समाचार कार्यक्रम) विज्ञापन सूचनाको आर्थिक स्रोतलाई सामुहिक रुपमा वितरण गर्न ।
३. रेडियोलाई केन्द्रमा राखेर खोज तथा अनुसन्धान, ज्ञान उत्पादन तथा व्यवस्थापन, इभेन्ट व्यवस्थापन, क्षमता विकास र स्थानीय सरकार सवलीकरणका लागि सञ्चार अभियान सञ्चालन गर्न ।
४. नेपाल सरकार विज्ञापन बोर्डले रेडियोमा पठाउने लोककल्याणकारी विज्ञापन बापत कट्टा गर्ने ३ प्रतिशत कमिशन खारेजीको पहल र नेतृत्व लिन ।
५. सूचना प्रविधीको विकासलाई सम्बोधन गर्दै संसारमा वर्षौंअघिदेखि कार्यान्वयनमा आएको डिजिटल रेडियो अवधारणामा काम गर्न ।

स्वतन्त्र रेडियो सहकार्य (CIR Nepal) को सचिवालय हालका लागि नेपाल एफएम काठमाडौं रहनेगरी तोकिएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको