Chauthoanga - Nepali News Media
दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपुर्जासहित सहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण गराउन पुगेको दाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङमा मोही किसानहरुले गरिरहेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
दाङमा मोही किसानहरुले जग्गा प्राप्तिको माग गर्दै लामो समयदेखि आवाज उठाउँदै आएको र गएको हप्तादेखि सडक सङ्घर्षमै उत्रिएको जानकारी गराउँदै मन्त्री शर्माले वार्ता समिति गठन गरेर सङ्घर्षरत किसानका मागहरू टेबल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो । तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाणपूर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै मोही किसानहरू आन्दोलनमा उत्रिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको