Chauthoanga - Nepali News Media
दाङका तीन गाउँपालिकामा एफटिटिएच विस्तार गर्न टेलिकमलाई मन्त्री शर्माको निर्देशन

काठमाडौं- दाङको दुर्गम गाउँपालिका राजपुरमा सोमबारदेखि नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गर्नुभएको हो । सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टरनेटसहितको दूरसञ्चार सेवा विस्तार गर्ने क्रममा राप्तीपारिको गाउँपालिका राजपुरमा एफटिटिएच पुर्‍याइएको बताउनुभयो । उहाँले अध्यक्षमार्फत गाउँपालिकाका बासिन्दा बधाई पनि दिनुभयो ।

केही समयअघि दाङको पहाडी गाउँपालिका बंगलाचुलीमा एफटिटिएच सेवा पुर्‍याइएको जानकारी दिनुहुँदै दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री शर्माले अब लगत्तै राप्तीपारिको गाउँपालिका गढवामा पनि सेवा विस्तार हुने बताउनुभयो । दश वटा स्थानीय तह रहेको दाङका छ वटा पालिकामा एफटिटिएच सेवा विस्तार भएको छ । मन्त्री शर्माले बाँकी तीन गाउँपालिका शान्तिनगर, बबई र दंगशीरणमा पनि चाँडै एफटिटिएच विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ ।

नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले पूर्वपश्चिम राजमार्गको रिहारबाट १५ किलोमिटर अप्टिकर फाइबर विस्तार गरेर राजपुरमा सेवा सुरु गरिएको जानकारी दिनुभयो । हाल वडा नम्बर ४, ५ र ६ मा यो सुविधा पुर्‍याइएको र यसबाट तत्काल पाँच सय १२ लाइन फोन, इन्टरनेट र टेलिभिजन वितरण गर्न सकिने उहाँले जानकारी दिनुभयो । यो पालिकाका वडा नम्बर १, २ र ३ मा चाँडै विस्तार गरिने उल्लेख गर्नुहुँदै उहाँले यो हप्ताभित्रै गढवा गाउँपालिकामा एफटिटिएच विस्तारको काम सुरु हुने बताउनुभयो ।

तुलसीपुरदेखि हापुरेसम्मको लाइन विस्तारको काम पनि सुरु गर्ने तयारी थालिएको जानकारी दिँदै कार्यालय प्रमुख शर्माले अबको दुई महिनाभित्र एफटिटिएच पुग्न बाँकी शान्तिनगर, दंगीशरण र बबई पनि पुर्‍याइने जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको