Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेश सरकारले "लौरियट्स एण्ड लिडर्स" चौथो शिखर सम्मेलनबारे संसदलाई जानकारी गरायो  

दाङ - लुम्बिनी प्रदेश सरकारले लुम्विनीमा आयोजना गरिएको "लौरियट्स एण्ड लिडर्स" चौथो शिखर सम्मेलनबारे आज संसदलाई जानकारी गराएको छ। प्रदेश सरकारले पर्यटकीय स्थलहरुलाई ब्राण्डिङ् गर्न लुम्बिनीमा लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन गर्न लागिएको संसदलाई जानकारी गराएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रतिनिधिको रुपमा गृहमन्त्री सन्तोषकुमार पाण्डेले अहिलेसम्म उठेका प्रश्नको जवाफ दिँदै शिखर सम्मेलन संघीय सरकारको निर्णयको आधारमा प्रदेश सरकारले आयोजना गर्न थालेको बताउनुभयो ।

उहाँले ११ जना नोबेल पुरस्कार विजेताहरु आउने पक्कापक्की भएको जानकारी दिदै शिखर सम्मेलनको बारेमा बाहिर प्रचार गरिएका बिषयहरु भ्रमपूर्ण रहेको दावी गर्नुभयो । लुम्बिनी प्रदेश सरकारको आयोजनामा यहि फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन गर्न लागिएको हो ।

लुम्बिनी प्रदेश सभाबाट स्वीकृत भएको यो कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल सरकार मन्त्री परिषदबाट पनि स्वीकृती प्राप्त गरी बालबालिका, विकास र शान्तिका लागि लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन गर्न लागिएको छ । 

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेसनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले शिखर सम्मेलनबारे धेरै प्रश्न उठाएको छ। प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले शिखर सम्मेलनको बारेमा सरकारकै कारण गम्भीर संवेदनशील बिषय खडा भएको टिप्पणी गर्नुभयो । लुम्बिनी प्रदेश सभाको अर्को बैठक चैत्र ४ गते वस्नेगरी बैठक सकिएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको