Chauthoanga - Nepali News Media
सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धतिबारे समीक्षा गर्नुपर्छ : सभामुख घिमिरे

तानसेन- सभामुख देवराज घिमिरेले सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धतिबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । निर्वाचन पद्धतिका कारण पटक–पटक सरकार परिवर्तन हुँदा तीनै तहको सरकार सञ्चालनमा असर देखिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको आयोजनामा शनिबार तानसेनमा भएको पत्रकार भेटघाटमा बोल्नुहुँदै सभामुख घिमिरेले एकै दलबाट बहुमत आउने गरी निर्वाचन प्रणालीबारे समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन प्रणालीबारे सबै पक्षसँग बसेर आवश्यक निर्णय लिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पाल्पामा भएको सभामुखहरूको भेलाले सदन र सरकारलाई प्रभावकारी सभामुखहरूको भेलामा छलफल भएको बताउनुभयो । अन्तरव्यवस्थापिका भेलाले मुख्यतः कानुन बन्नुपर्ने विषय, बनेको कानुनको कार्यान्वयन र कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको उहाँले बताउनुभयो । उहाँले अन्तर व्यवस्थापिका मञ्चको भूमिकालाई बढाउन सबैको सहमति रहेको बताउनुभयो ।

सभामुख घिमिरेले सदन र सरकारलाई प्रभावकारी बनाउन बजेट सम्बन्धी विशेष प्रबन्ध गर्नुपर्ने, संसदीय प्रणालीभित्र सङ्घ र प्रदेशले बजेट सङ्घ प्रदेश र स्थानीय सरकारलाई भूमिकायुक्त बनाउन विषयमा छलफल र समीक्षा भएको बताउनुभयो ।

यसैबिच लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले अन्तरव्यवस्थापिका भेलाले पास गरेको सात बुद्धे पाल्पा घोषणापत्र सार्वजनिक गर्नुभएको छ । आउँदो भेला गण्डकी प्रदेश सरकारले आयोजन गर्नेगरी सदनको भूमिका प्रभावकारी बनाउन घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको