Chauthoanga - Nepali News Media
सानो आकारको मन्त्रिपरिषद् आजै  गठन हुनेः सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल गठन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धनको आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ गठबन्धनबारे जानकारी दिँदै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी गराउनुभएको हो ।

उहाँले केही मन्त्रीहरुको नियुक्ति हुने भएकाले सपथ गराइदिन आग्रह गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ । बेलुकासम्म मन्त्रीहरुको नाम पठाउने प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।

उहाँले अहिले कांग्रेसको तर्फबाट बनेका सबै मन्त्रीहरुलाई हटाएको पनि जानकारी गराउनुभएको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई आजै मन्त्री बनाउने तयारी छ । राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि तयारी अवस्थमा रहेको जनाएको छ ।

यसैबीच नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव रहेका रहनुभएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुङ्गो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने छ । 

यसैबीच सत्ता गठबन्धन भत्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । सभापति देउवाले भोलि दिउँसो तीन बजे बुढानीलकण्ठमा रहेको आफ्नै निवासमा बैठक बोलाउनुभएको हो ।

यस्तै नयाँ गठबन्धनमा सहभागी हुने नहुने भन्ने अन्योलमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र गठबन्धनमा सामेल हुने/नहुनेबारे छलफल गर्न अहिले केहीबेरमा सचिवालयको बैठक बस्न लागेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको