Chauthoanga - Nepali News Media
वैचारिक विषयमा शङ्का र अविश्वासले नेपाली कांग्रेससँगको गठबन्धन भत्काएको होः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैचारिक विषयमा शङ्का र अविश्वास भएका कारण नेपाली कांग्रेससँगको गठबन्धन भत्काएको बताउनुभएको छ। बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस पार्टी र आफूहरुकाबीचमा वैचारिक विषयमा शङ्का र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको बताउनुभएको हो ।

उहाँले आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको प्रष्ट समेत पार्नुभएको हो । उहाँले कांग्रेससँग व्यक्तिगत भन्दा पनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताउनु भयो । उहाँले कांग्रेस महासमिति बैठकले गठबन्धनको विरुद्धमा निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर चलाउनु नै गठबन्धन टुट्नुको कारण रहेको उल्लेख गर्नुभयो । त्यसैगरी कांग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठीक भएको आशय उल्लेख गरिनु पनि सम्बन्ध टुट्नुको कारण भएको बताउनु भयो ।

यस्तै उहाँले कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरीत लाग्दा पनि कारबाही नभएको बताउनुभयो । राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको उहाँको भनाइ छ ।प्रधानमन्त्री दाहालले व्यक्तिका रुपमा कांग्रेसले आफूलाई माया गरेको भए पनि प्रधानमन्त्रीको रुपमा न्याय नगरेको बताउनु भयो । 

‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रुपमा म कुनै समस्या वा अप्ठ्याराेमा थिइन् । न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मेराबीच व्यक्तिगत अविश्वास केही पनि थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि त्यहाँ थिएन । पछिल्लो ११ महिना लामो साथ र सहकार्यप्रति म विशेषत: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साथीहरुप्रति आभारी छु । अहिले पनि हाम्रो निजी सम्बन्धमा मेरो तर्फबाट कम्तीमा उत्तिकै सद्भाव छ । तर राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणामहरु निर्णायक हुन पुग्दारहेछन् र अघिल्ला गठबन्धनमा त्यही भयो । ’उहाँले भन्नुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको