Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाद्वारा आर्थिक वर्ष २०७९/०८० को लागि ६३ करोड ५५ लाखको बजेट विनियोजन

कमिरेचौर : दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६३ करोड ५५ लाख २० हजारको बजेट विनियोन गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर शुवासको अध्यक्षतामा वसेको गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर जिसीले बजेट प्रस्तुत गर्नु भएको थियो ।

गाउँपालिकाले शिक्षा, पूर्वाधार  विकास, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक सशक्तिकरण, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, आर्थिक विकासलाई मुख्य प्राथिमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले पुँजिगत तर्फ २८ करोड ६१ लाख ७९ हजार अर्थात (४६ प्रतिशत) र चालु तर्फ शिक्षा स्वास्थ्यको तलव भत्ता कार्यक्रम,सामाजिक सुरक्षा रकम ६ करोड ५० लाख सहित ३४ करोड ९३ लाख ४१ हजार अर्थात (५४ प्रतिशत)बजेट विनियोजन गरेको हो ।

उक्त बजेट मध्य नेपाल सरकारलको अनुदान बाट ४५ करोड ८४ लाख, संघिय राजश्व बाँडफाँडबाट १० करोड ९७ लाख, प्रदेश सरकारको अनुदान बाट ३ करोड ४७ लाख,प्रदेश राजस्व बाँडफाँड बाट ७७ लाख र आन्तरीक राजस्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दात १ करोड आय अनुमान गरिएको छ । 

"सबै मिलीजुली, हामी बनाउँछौँ हाम्रो बंगलाचुली" भन्ने मुल नाराका साथ गाउँपालिकाले शिक्षामा सबै भन्दा धेरै २० करोड ६५ लाख र स्वाथ्य तर्फ १० करोड १७ लाख गरी जम्मा ३० करोड ८२ लाख अर्थात कुल बजेटको ४९ प्रतिशत बजेट विनियोजन गरेको छ ।

त्यस्तै गाउँपालिकाले  तलवभत्ता , कार्यालय संचालन तथा व्यवस्थापन लगायत प्रशासनिक तर्फ ८ करोड अर्थात कुल बजेटको १२ प्रतिशत खर्च अनुमान गरिएको छ । गाउँ सभामा बंगलाचुली गाउँपालिकाको आ.ब. २०७९/०८० को आर्थिक विधेयक, २०७९ सभाका सदस्य झविन्द्र वहादुर गाहामगर र बंगलाचुली गाउँपालिकाको आ.ब. २०७९/०८० को विनियोजन विधेयक, २०७९ सभाका सदस्य मैते पुन मगरले पेस गर्नुभएको थियो ।

यसैविच आजै गाउँसभा बाट पालिका उपाध्यक्ष भक्त बहादुर जिसिको संयोजकत्वमा न्यायिक समिति समेत गठन गरिएको छ ।स्थानिय सरकार संचालन ऐन २०७४ ले हरेक पालिकामा उपाध्यक्ष वा उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहेको छ ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको