Chauthoanga - Nepali News Media
नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो ।

यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भन्नुभयो , ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने ।’

सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । तर अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर १५ प्रतिशतभन्दा बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुको तलब १५ प्रतिशत अनुसार नै हुने गरी तोकिएको नयाँ तलवमान अर्थ मन्त्रालयले मन्त्रिपरिषदको कार्यालयमा प्रस्ताव पठाएको सार्वजनिक भएपछि नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका थिए । उनीहरुले आज पनि आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।

मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । भदौ ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा बैककमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।

जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको