Chauthoanga - Nepali News Media
जनताको मतलाई मान्यता देउ : गठबन्धन


दाङ: दाङ क्षेत्र नम्बर २ प्रतिनिधिसभामा मतदान अधिकृतले हस्ताक्षर नगरेका मत भेटिएपछि गठबन्धनले जनताको मतलाई मान्यता दिनुपर्ने बताएको छ । मतदान अधिकृतले गरेको गल्तीको सजाय जनतालाई दिन नमिल्ने गठबन्धनको भनाई रहेको छ । दाङ २ प्रतिनिधिसभामा मत गणना भइरहँदा मंगलबार ८८ मत मतदान अधिकृतको हस्ताक्षर नभएको मत भेटिएको थियो । जसमा गठबन्धनका तर्फबाट रेखा शर्माका लागि हंसिया हथौडामा ४९, नेकपा एमालेका लागि सुर्य चिन्हमा ३३ , राष्ट्रिय स्वतन्त्र पाटीका लागि घण्टी चुनाव चिन्हमा २ र अन्यमा २ मत प्राप्त भएको छ । नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले प्राविधिक त्रुटीका कारण जनअभिमतलाई अमान्य गराउन नमिल्ने बताए । ‘ मतदान अधिकृतले गरेको गल्तीको सजाय जनतालाई दिन मिल्दैन ’ उनले भने ‘ जनताले आफ्नो मत स्पष्ट रुपमा प्रकट गरेका हुन । मतदान अधिकृतले हस्ताक्षर नगर्नु उनको गल्ती हो । जनअभिमतलाई प्राविधिक त्रुटी देखाएर अमान्य गराउन मिल्दैन । ’ नेकपा एमालेले भने हस्ताक्षर नभएका मतपत्रलाई खारेज गर्नुपर्ने अडान लिएको छ ।  मतपत्र भेटिएपछि मंगलबार बिहान केही समयका लागि मतगणना समेत राकिएको थियो । मुख्य निर्वाचन अधिकृतले यो विषयमा छानविन गरेर थप निर्णय लिने बताएपछि हाल ति मतपत्रलाई थाँती राखेर हाल अन्य मतपत्रको गणना भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको